वि.सं.२०८३ वैशाख ३० बुधवार

पदाधिकारी चयन नगरी सकिँदै माओवादी बैठक, एमसीसीमाथिको छलफल पनि चुनावपछि

khanepani

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठक पदाधिकारी चयन नै नगरी टुंगिने भएको छ । बैठकका ६ वटा एजण्डामध्ये महत्वपूर्ण एजेण्डामा पदाधिकारी चयन थियो ।

माओवादीले सांगठानिक एजेण्डाअन्तर्गत केन्द्रीय सदस्य थप र पोलिटब्यूरो, स्थायी कमिटी साथै पदाधिकारी चयनको एजेण्डा राखेको थियो । तर, पटकपटक सर्दै आएर शुक्रबारदेखि बसेको यो बैठकमा पनि पदाधिकारी चयन टरेको छ ।

पार्टी स्थानीय चुनावमा केन्द्रित हुनुपर्ने भएकोले पदाधिकारी चयनलगायतका विषय थाती राख्ने नेता देव गुरुङले जानकारी दिए । ‘अब हामी चुनावी अभियानमा लाग्नुपर्नेछ । चुनावपछि नै बस्नै बैठकले पदाधिकारी टुंग्याउँनेछ’, गुरुङले भने ।

एमसीसीमाथिको छलफल पनि त्यतिबेलै गराउने पक्षमा अध्यक्ष प्रचण्ड पुगेको बताइएको छ ।

एमसीसी र पदाधिकारी चयनले पार्टीमा अन्तरसंघर्ष बढाउने आँकलन गर्दै माओवादीले तत्कालका लागि यो विषय टार्न खोजेको हो ।

पार्टीका एक नेताका अनुसार महासचिव छनौटमा ‘सकस’ पर्ने देखिएपछि पदाधिकारी चयन अहिले नहुने भएको छ । माओवादीमा वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल र देव गुरुङले महासचिवका लागि दाबी गरिरहेका छन् । तीमध्ये वर्षमान र जनार्दनलाई प्रमुख दाबेदारका रूपमा हेरिएको छ ।

चुनावको मुखमा एमसीसीमा असन्तुष्ट नेताहरू र पदाधिकारीका आकांक्षीको रस्साकस्सीले पार्टी एकता धरापमा पर्न सक्ने बुझेर प्रचण्डले मध्यमार्गी प्रस्ताव ल्याउन खोजेको नेताहरूको बुझाइ छ ।

ranechhap