18, May, 2024

जानकी मन्दिरको गर्भगृह जान राष्ट्रपति पौडेललाई चप्पलको व्यवस्था गरिएपछि विरोध

Bagmati Voice
संवाददाता
८ आश्विन २०८०, सोमबार ०८:२७ | ७ महिना अगाडी

जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेल जनकपुरधामस्थित जानकी मन्दिरमा चप्पल लगाएरै दर्शन र पूजापाठ गर्ने भएका छन् ।

आज बिहान ९ बजे राष्ट्रपति पौडेल जनकपुरधाम आउने कार्यक्रम छ । जनकपुरधाम आऐलगत्तै उनी पूजापाठ र दर्शनका लागि जानकी मन्दिर पुग्नेछन् । उनका लागि मन्दिरमा चप्पलको व्यवस्था गरिएको छ ।

जानकी मन्दिरका सहायक महन्त रोषण दास ‘वैष्णव’ ले माता जानकीको गर्भगृहसम्म पुग्न राष्ट्रपति पौडेलका लागि चप्पलको व्यवस्था मिलाएको बताए । उनका अनुसार आयोजक जनकपुरधाम उपमहानगरपालिकाले नै चप्पलको व्यवस्था मिलाएको हो ।

महन्त वैष्णवले भने, ‘जाडो महिनामा मानिसहरूले कपडाको जुत्ताजस्तो जुन चप्पल लगाउँछन्, त्यही चप्पल राष्ट्रपति पौडेलको लागि व्यवस्था गरिएको छ ।’

राष्ट्रपति पौडेलको लागि जानकी माताको गर्भगृहसम्म पुग्न चप्पलको व्यवस्था मिलाएपछि विरोध भइरहेको छ ।

यसअघिका राष्ट्रपति डा. रामवरण यादव, विद्यादेवी भण्डारी आउँदा भने खाली खुट्टै पूजाअर्चना गरेका थिए ।

नेपाल पत्रकार महासंघ धनुषाकी सभापति मनिका झाले पनि जानकी मन्दिरमा राष्ट्रपति पौडेलको लागि चप्पलको व्यवस्था मिलाएपछि सामाजिक सञ्जालमा आपत्ति जनाएकी छन् ।

८ आश्विन २०८०, सोमबार ०८:२७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading