25, Sep, 2023

कोशी प्रदेश सरकार गठनविरूद्ध परेको रिटमा आज आदेश आउन सक्ने

बागमती भ्वाइस न्युजडेस्क
११ श्रावण २०८०, बिहीबार ०८:०७ | २ महिना अगाडी

विराटनगर । कोशी प्रदेश सरकार गठनविरूद्ध परेको रिटमा सर्वोच्चले आज पनि सुनुवाइ गर्दै छ।

न्यायाधीशहरू इश्वरप्रसाद खतिवडा, ‍आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा सुनुवाई भइरहेको मुद्दामा आज आदेश आउने सम्भावना प्रबल छ।

रिटमाथि पक्ष र विपक्ष दुबै तर्फका वकिलहरूको बहस हिँजै सक्किएको छ। बुधबार बहस सकिएपछि आजका लागि पेशी तोकिएको छ।

आज बस्ने इजलासले आदेशबारे पनि निर्णय गर्नेछ।

प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापालाई असंवैधानिक रूपमा नियुक्त गरेको भन्दै नेकपा एमाले संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए।

प्रदेशमा थापालाई मुख्यमन्त्री बनाउन सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेको विरूद्ध एमाले सर्वोच्च पुगेको हो।

कार्कीले रिटमा संविधानको धारा १६८ उपधारा २ अनुसार थापाको नियुक्ति अवैध भएको दाबी गर्दै नियुक्ति खारेज गर्न र धारा १६८ को उपधारा ३ अनुसार आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेशको मागसमेत गरेका छन्।

११ श्रावण २०८०, बिहीबार ०८:०७ मा प्रकाशित