वि.सं.२०८३ साउन १७ आइतवार

ओलीको आदेश भन्दै शेरधनले मागे मुख्यमन्त्री कार्कीको राजीनामा

khanepani

विराटनगर । कोशी प्रदेश सरकार पुनर्गठनको चर्चा चलिरहँदा नेकपा एमाले कोशी प्रदेशका इन्चार्ज शेरधन राईले मार्गप्रशस्त गर्न मुख्यमन्त्री हिक्मत कार्कीलाई आग्रह गरेका छन् ।

पार्टी अध्यक्षको निर्देशन भन्दै राईले नयाँ सरकार पुनर्गठनका लागि राजीनामा दिएर मार्गप्रशस्त गर्न कार्कीलाई आग्रह गरेका हुन् । बेलायत भ्रमणपछि फर्किएका पार्टी इन्चार्ज राईले नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीलाई राजीनामा दिएर सहज बनाउन आग्रह गरेको स्रोतको भनाइ छ ।

राईले विराटनगर आएर प्रदेश सभा सदस्यहरूसँग छलफल गरेका थिए । छलफलपछि मुख्यमन्त्रीलाई राजीनामा दिन आग्रह गरेको स्रोतको भनाई छ । नेकपा एमालेका सचिव तथा प्रदेश इन्चार्ज शेरधन राईले कोशीमा मुख्यमन्त्री परिवर्तन गर्ने केन्द्रको नीति रहेको बताए । उनले भने, ‘केन्द्रको मुख्यमन्त्री फेरौँ भन्ने छ, त्यहीअनुसार छलफल भइरहेको छ ।’ उनले आज बेलुकासम्ममा सरकार पुनर्गठनबारे टुङ्गो लाग्ने बताए ।

केन्द्रमा नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेका बिच प्रदेशको सत्ता बाँडफाँड गर्ने सहमति हुँदा कोशी नेकपा एमालेको भागमा परेको छ । कोशीमा नेकपा एमालेका तर्फबाट मुख्यमन्त्रीको रूपमा हिक्मत कुमार कार्कीले सरकारको नेतृत्व गरिरहेका छन् ।

एमालेकै नेतृत्वमा सरकार हुँदा यस्तो विषम परिस्थितिमा नेतृत्व परिवर्तन गर्दा सन्देश राम्रो नजाने भन्दै मुख्यमन्त्री कार्कीले भने सरकार पुनर्गठन गर्न नहुने अडान लिएका छन् । उनी यदि मुख्यमन्त्री परिवर्तन गर्न परे पार्टीको संस्थागत निर्णय आउनु पर्ने अडानमा छन् । नेकपा एमालेको बैठक बसेर निर्णय नभएकाले अहिले सरकार परिवर्तन नहुने मुख्यमन्त्री कार्कीले दोहो¥याए ।

कार्की नेतृत्वको सरकार संविधानको धारा १६८(५) बमोजिम बनेको हो । संविधानको धारा १६८(१) र २ अन्तरगत बनेको भए संसदीय दलको नेता फेर्दा सरकार विघटनमा जान्थ्यो र पर्नुगठनका लागि सहज हुन्थ्यो । तर अहिले त मुख्यमन्त्रीले स्वयम्ले राजीनामा नदिएसम्म नयाँ सरकार गठनमा जटिलता थपिएको छ ।

मुख्यमन्त्री कार्की २०८१ वैशाख २७ गते एमालेका ३९ र माओवादीका १३ सहित ५२ सांसदको समर्थनमा नियुक्त भएका थिए । धारा १६८ (५) अनुसार बनेको सरकारमा सांसदहरूलाई दलको ‘ह्विप’ नलाग्ने भएकाले पनि कार्कीको सहमतिबिना परिवर्तन कठिन भए पनि केन्द्रका निर्देशन भन्दै सरकारको नेतृत्व परिवर्तनका लागि कोशीमा रस्साकस्सी चलिरहेको छ ।

एमाले स्रोतका अनुसार अहिले मुख्यमन्त्री कार्कीको स्थानमा तिलकुमार मेन्याङ्वोलाई प्रदेशको मुख्यमन्त्री बनाउने तयारी रहेको छ । उनी यसका लागि प्रदेश सभा सदस्यहरूसँगै बैठक गर्दै आएका छन् ।

ranechhap