02, May, 2024

सुदूरपश्चिममा सरकार विस्तारको तयारी, अझै मिलेको छैन भागबन्डा

Bagmati Voice
संवाददाता
५ जेष्ठ २०८०, शुक्रबार १५:११ | ११ महिना अगाडी

कैलाली । सुदूरपश्चिम प्रदेशमा सरकार विस्तार गर्ने तयारी भइरहेको छ । माओवादी केन्द्रले मन्त्री बन्नेहरुको नाम टुंगो लगाएसँगै सरकार विस्तारको तयारी भएको हो ।

माओवादीले अछामबाट निर्वाचित झपट साउद र कैलालीबाट निर्वाचित रमेश धामीलाई मन्त्री बनाउने निर्णय गरेको छ । समानुपातिक सांसद गीतादेवी माललाई राज्यमन्त्री बनाउने निर्णय भएको माओवादी संसदीय दलका नेता खगराज भट्टले जानकारी दिए ।

उनले मुख्यमन्त्री कार्यालयमा पुगेर आफ्नो पार्टीबाट मन्त्री हुनेहरुको नाम बुझाएको उल्लेख गरेका थिए ।
माओवादी केन्द्रले सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा दाबी गरेको छ ।

उता नागरिक उन्मुक्ति पार्टीले पनि सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा दाबी गरेको छ ।

नागरिक उन्मुक्तिको संसदीय दलको बैठकले रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारीमा पठाउने निर्णय गरेको संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए ।

उनले आफूहरूको दुई मन्त्रालय पाउनुपर्ने अडान रहेको बताए ।

अहिले भूमि व्यवस्था कृषि तथा सहकारी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, सामाजिक विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय मन्त्रीविहीन छन् । चार मन्त्रालयमा माओवादी र नागरिक उन्मुक्तिले २/२ तथा नेपाली कांग्रेसले एउटा मन्त्रालयमा दाबी गरेका छन् ।

माओवादी केन्द्र र नागरिक उन्मुक्तिले मन्त्री हुनेहरुको नाम टुंगो लगाए पनि कांग्रेसले अहिलेसम्म मन्त्री हुनेहरुको नाम टुंगो लगाउन सकेको छैन । कांग्रेसमा शिवराज भट्ट, पृथ्वीबहादुर सिंह र मेघराज खड्काको सम्भावना बढी छ ।

दुई मन्त्रालय नपाए सरकारमा तत्काल सहभागी नहुने अडान लिएको नागरिक उन्मुक्तिलाई दुई वटै मन्त्रालय दिँदा कांग्रेसको भागमा थप मन्त्रालय पर्ने सम्भावना छैन । नागरिक उन्मुक्तिले एउटामात्रै मन्त्रालय पाएको अवस्थामा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा रामेश्वर चौधरीलाई मन्त्री बनाउनेछ ।

तर, अझै पनि भागबन्डा नमिलेका कारण मुख्यमन्त्रीलाई मन्त्री नियुक्त गर्न सकस छ । मुख्यमन्त्री कमलबहादुर शाह भने आजै सरकार विस्तार हुने दाबी गर्छन् ।

‘आजै सरकार विस्तार हुन्छ’, उनले भने १०० दिनको प्रगति सार्वजनिक गर्दै भनेका थिए, ‘हामी सरकारलाई आजै पूर्णता दिने गरी तयारी गरिरहेका छौं ।’

सोहीअनुसार प्रदेश प्रमुख कार्यालयले साँझ ५ बजे शपथ ग्रहण गराउने तयारी गरेको छ । ‘पाँच बजे शपथ ग्रहण गर्ने गरी तयारी गरिरहेका छौं’, प्रदेश प्रमुख कार्यालयले भन्यो, ‘माओवादीबाट मन्त्री हुनेहरुको नाम आइसकेको छ । अरूको बाँकी छ ।’

५ जेष्ठ २०८०, शुक्रबार १५:११ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading