काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वासको प्रस्ताव ल्याएको प्रचण्ड-नेपाल समूहले प्रदेश(१ मा पनि अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको छ।
मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्ताव ल्याउने अन्तिम तयारी भएको प्रचण्ड-नेपाल समूहका एक प्रदेश सांसदले बताए।
‘हामीले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेका छौं। त्यो बेलासम्म प्रदेश सभा रहन्छ की रहँदैन भन्ने मात्रै हो। किनकी बागमतीको घटनाले आत्तिएर प्रधानमन्त्रीले प्रदेश सरकार र प्रदेश सभा भंग गर्ने खतराछ,’ ती सांसदले भने,’हाम्रा साथीहरू अहिले बाहिर-बाहिर हुनुहुन्छ। साथीहरू भेला हुनसाथ अविश्वासको प्रस्ताव गइहाल्छ।’
प्रदेश सभाकै बहुमत आफूहरूसँग रहेको प्रचण्ड-नेपाल समूहका एक केन्द्रीय सदस्यले दाबी गरे। प्रदेश सभाका ९३ सांसदमध्ये नेकपाका ६८ सांसद छन्। जसमध्ये पूर्वएमालेका ५२ र पूर्वमाओवादीका १६ जना छन्।
२०७४ मा प्रदेश सभामा नेकपा एमाले संसदीय दलको निर्वाचन हुँदा अहिलेका मुख्यमन्त्री शेरधन राई विजयी भएका थिए।
उनले एमालेका तत्कालीन सचिव भीम आचार्यलाई २ मतले हराएका थिए। प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरका राईले २६ मत पाउँदा माधव नेपालनिकटका आचार्यले २४ मत पाएका थिए। एकमत बदर भएको थियो। बदर भएको मत आफूहरूकै रहेको प्रचण्ड-नेपाल पक्षको दाबी छ।
‘अहिले हाम्रो पक्षमा पूर्व एमालेका २८ जना सांसद खुल्नुभएको छ। ४ जना कतै खुल्नुभएको छैन। उहाँहरू पनि यतै आउनुहुन्छ,’ प्रचण्ड-नेपाल पक्षधर ती नेताले भने, ‘पूर्वमाओवादीको १६ समेत जोडेपछि हाम्रो नेतृत्वमा सरकार बन्न सक्छ।’







































