गोरखा । गुणस्तरहीन कालोपत्रे गरिएपछि स्थानीयहरुले आक्रोश व्यक्त गर्दै कालो पत्र उक्काएर फाँलेका छन । गोरखाको बाह्रकिलो-छेपेटार सडकखण्डस्थित बाह्रकिलो नजिकै कालोपत्र गरिएको सडक स्थानीय बासिन्दाले उप्काइदिएका छन्।
गुणस्तरहीन कालोपत्र गरेको विरोधमा सोमबार बिहान स्थानीयले कालोपत्र उप्काएका हुन्।
यो सडक आइतबार कालोपत्र गरिएको थियो।
करिब डेढ किलोमिटर सडक कालोपत्र गर्ने जिम्मा एक करोड ७७ लाख रूपैयाँमा निर्माण व्यवसायी उत्तम भट्टको गोरखा एप्रोप्रियटले लिएको थियो।
‘सडकको धुलो फाल्दै नफाली कालोपत्रे गर्दा पक्ल पक्ल चपरीजस्तो निस्कियो,’ स्थानीय ईश्वर बस्नेतले भने, ‘मान्छे हिन्दा पनि उप्कनेजस्तो छ सडक। यस्तो सडकमा सवारी साधन कसरी गुड्छन् ?’
सडकको धुलो राम्रोसँग नहटाइ काम गरेकोले कालोपत्र सेट हुन नपाएको उनले बताए।
धुलो सफा गरेर मात्रै कालोपत्र गर्न पटकपटक आग्रह गरे पनि निर्माण व्यवसायीले अटेरी गरेर गुणस्तरहीन काम गरेकोले विरोधमा उत्रनु परेको उनीहरूको भनाइ छ।
सडक निर्माणको जिम्मेवारी पाएको गोरखा एप्रोप्रियटका ईञ्जिनियर अबिजित कोइरालाले कालोपत्र सेट हुन नपाउँदै स्थानीयले उप्काइदिएको बताए।
‘एक ठाउँमा राम्रोसँग रोलिङ नहुँदा कालोपत्र नअडेकोजस्तो देखियो। त्यहाँ पुनः कालोपत्र गरिन्छ,’ उनले भने, ‘ओरालो ठाउँ भएकोले त्यहाँ रोलिङ राम्रोसँग नहुँदा कालोपत्र सेट नभएको हुन सक्छ।’
बाह्रकिलोबाट सिर्दीखोलासम्म करिब डेढ किमी सडक आफूहरूले कालोपत्र गर्ने जिम्मेवारी पाएको उनले बताए।
तिहारअगाडि नै कालोपत्र सक्ने गरी काम अगाडि बढाइएको उनले जानकारी दिए।
‘यो कालोपत्र सेटिङ हुन २४ घण्टा लाग्छ। हिजो दिउँसो कालोपत्र गरेको हो अहिले नै सेट भइसकेको छैन,’ उनले भने।
यो पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको घर जाने सडक पनि हो।









































