जनकपुरधाम । सीके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि प्रदर्शन गरेको छ ।
मुख्यमन्त्री कार्यालयले सञ्चालन गरेको बेटी बचाऊ, बेटी पढाऊ अभियानमा अनियमितता भएको भनी अख्तियारले कागजात नियन्त्रणमा लिएको केही दिनपछि सोमबार जनमत पार्टीले प्रदर्शन गरेको हो । नगरको विभिन्न ठाउँमा मोटरसाइकल जुलुस प्रदर्शन गरेका उनीहरुले मुख्यमन्त्री कार्यालयको गेट अगाडि नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।
प्रदर्शनका क्रममा उनीहरुले भ्रष्टाचारी पार्टी मधेश छोड, भ्रष्टाचारी होशियार, भ्रष्टाचारीलाई कारबाही गर, भ्रष्ट सरकार राजीनामा दे, मधेशी जनता के भन्छ ? भ्रष्टाचारीलाई जेल दे भन्छ, भ्रष्टाचारी मुख्यमन्त्री राजीनामा दे’ जस्ता नारा लगाएका छन् ।
प्रदेश सरकारले गरेको अनियमितताकै कारण अख्तियारले छापा मारेको भन्दै उनीहरुले छानबिन गरी कारबाहीको माग गरेका छन् ।








































