काठमाडौँ । नेकपा (एमाले) को आजको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका विघटित प्रतिनिधिसभामा रहेका पार्टीका सांसद्लाई प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुुुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा गरिएको हस्ताक्षर फिर्ता लिन आग्रह गरेको छ ।
सो दलको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी केन्द्रीय कमिटीमा रुपान्तरण भएपछिको पहिलो बैठकमा अध्यक्ष ओलीले आफ्नै पार्टीका प्रधानमन्त्रीविरुद्ध र विपक्षी दलका नेताका पक्षमा हस्ताक्षर गरिनु दुःखद् भएकाले पार्टीको एकता र देशको आवश्यकताबमोजिम त्यस्तो हस्ताक्षर फिर्ता लिन र पार्टीका काममा सक्रिय हुन नेता माधवकुमार नेपाललगायतका नेताहरुलाई आग्रह गरेको हो । अध्यक्ष ओलीले आउँदो सोमबार साँझसम्मका उक्त हस्ताक्षर फिर्ता लिन समयसीमा पनि दिएको छ ।
अध्यक्ष ओलीले पार्टीलाई एकताबद्ध बनाउन उपाध्यक्ष वामदेवा गौतमलाई विशेष भूमिका निर्वाह गर्न पनि आग्रह गरे। प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठनबन्धनमा सामेल हुँदै नेता नेपालसहित एमालेका २३ निवर्तमान सांसद्ले सर्वोच्च अदालतमा दायर प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा हस्ताक्षर गरेको छ । पार्टीका कुनै खेमामा नहरहेका उपाध्यक्ष गौतम बैठकमा उपस्थित भई अब पार्टीलाई एकताबद्ध बनाउन पहल गर्ने प्रतिज्ञा गरेका छ ।
बैठकले पार्टीको आन्तरिक समस्या समाधानार्थ आह्वान गर्ने र चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सयवर्षका उपलक्ष्यमा चीनले प्राप्त गरेका उपलब्धिका लागि चिनियाँ जनताप्रति हार्दिक बधाई ज्ञापन गर्नेलगायतका प्रस्ताव पारित गरेको एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
नवौँ महाधिवेशनपछिको १३ औँ केन्द्रीय कमिटीको बैठकमा वरिष्ठ नेता नेपाललगायत केही नेता अनुपस्थित रहएको थियो । नेकपा (माओवादी केन्द्र) सँगको एकतापूर्वको केन्द्रीय कमिटीमा माओवादीबाट आएका नेता रामबहादुर थापालगायतलाई समावेश गरी आजका लागि बैठक आयोजना गर्ने निर्णय यही असार १६ गतेको आयोजक कमिटी बैठकले गरेको थियो । पार्टीभित्र असन्तुष्ट पक्षसँग दोस्रो तहका नेताको अनौपचारिक वार्ता जारी रहे पनि अन्य सहमति खोज्ने पहल भइरहेको जनाइएको छ ।
एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले केही शर्तसहित गत जेठ २३ गते पार्टीलाई एकताबद्ध बनाउन २०७५ जेठ ३ गते नेकपा (माओवादी केन्द्र) सँगको एकतापूर्वको संरचनामा पार्टीलाई सञ्चालन गर्न आफू तत्पर भएको घोषणा गरेका थिए । अध्यक्ष ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा जोडिएका नेता नेपाल पक्षका केही तत्कालीन सांसदले हस्ताक्षर फिर्ता गर्नुपर्ने शर्त राखेको छ । बैठक आह्वान भएपछि अध्यक्ष ओली र नेता नेपालबीच टेलिफोन संवादमा गृहकार्य गरेर बैठक आयोजना गर्न नेता नेपालले प्रस्ताव गरेको थियो ।
यसअघि स्थायी कमिटीको यही असार १३ गतेको बैठकले सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा, पार्टीको महाधिवेशन आयोजक कमिटीमाथि उठाइएका विवादलगायत विषयमा छलफल गर्न आज आयोजक कमिटीको बैठक तय गरेको थियो । सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलाबाट एमाले र माओवादी एकतापूर्वको अवस्थामा रहेपछि एमालेको फागुन २८ गतेको केन्द्रीय कमिटीको बैठकले आयोजक कमिटी गठन गरेकामा नेता नेपाल पक्षले असन्तोष जनाउँदै आएकोे थियो ।
एमालेको आजको बैठकले पुष्पलाल, मनमोहन र मदन भण्डारीलगायतका अग्रजप्रति सम्मान, कोभिड महामारीबाट मृत्युवरण गरने सबैप्रति श्रद्धाञ्जली, सम्पूर्ण संक्रमितप्रति स्वास्थलाभको कामना, बाढीपहिरोबाट ज्यान गुमाउनुहुनेप्रति श्रदासुमन अर्पण, घाइतेको स्वास्थ्यलाभको कामना र विस्थापितको दीगो पुनस्र्थापना, वरिष्ठ नेता झलनाथ खनालको शीघ्र स्वास्थ्यलाभको कामनालगायत छ बुँदे प्रस्ताव पारित गरेको छ । नेता खनालको उपचारको खर्चको जिम्मेवारी नेपाल सरकारले लिने बैठकलाई जानकारी गराइएको थियो ।