काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरस (कोभिड—१९) सङ्क्रमणका कारण १ लाख १५ हजार स्वास्थ्यकर्मीको ज्यान गएको बताएको छ । नियमित मिडिया ब्रिफिङमा विश्व स्वास्थ्य सङ्गठन प्रमुख डा. टेड्रोस अधानोमले १८ महिनादेखि कोरोना महामारीमा अग्रपङ्क्तिमा खटिरहेका विश्वभर १ लाख १५ हजार स्वास्थ्यकर्मीको मृत्यु भएको बताए ।
सङ्क्रमितको पहिचान, उपचार नियन्त्रण र व्यवस्थापनमा खटिएका मध्ये हाल १० लाख कोरोना सङ्क्रमित रहेको समेत उनले बताए । २०२१ लाई स्वास्थ्य तथा स्याहारकर्मीको अन्तर्राष्ट्रिय वर्षका रूपमा मनाउँदा लैङ्गिक असमानताको मुद्दालाई प्राथमिकताका साथ राख्नुपर्ने उनको भनाइ थियो ।
विश्वभर रहेका कुल स्वास्थ्यकर्मीहरूको ७० प्रतिशत हिस्सा महिला स्वास्थ्यकर्मी छन्, जसमा करिब ९० प्रतिशत नर्स तथा मिडवाइफ र ५० प्रतिशत फिजिसियन रहेका छन्,’ उनेले भने, विश्व स्वास्थ्य र हेरचाह महिला स्वास्थ्यकर्मीकै भरमा छ, महिला स्वास्थ्यकर्मीलाई हामीले कति सम्मान र महत्त्व दियौँ ।
महिला स्वास्थ्यकर्मीलाई समान सुविधा र महत्त्व दिनुपर्ने भन्दै उनीहरूमाथि हुने भेदभाव र हिंसालाई रोक्न सबै एकजुट हुनुपर्नेमा उनको जोड थियो ।







































