वि.सं.२०८३ असोज ४ आइतवार

बझाङमा देउवा पक्षद्वारा नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक, विशेष महाधिवेशन ‘नाटक’ भएको आरोप

पूर्वसभापति सिंहले विशेष महाधिवेशन प्रक्रिया नाटकीय भएको आरोप लगाउँदै त्यसमा सहभागी नहुन र १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले तोकेको असोज १५ गतेको वडा अधिवेशनमा सहभागी हुन नेता-कार्यकर्तालाई आग्रह गरे।

khanepani

बझाङ । नेपाली कांग्रेसभित्र केन्द्रमा चुलिएको आन्तरिक विवादको प्रभाव जिल्ला तहसम्म पुगेको छ। बझाङमा सभापति शेरबहादुर देउवा पक्षले नियमित महाधिवेशनका लागि नयाँ कार्यतालिका सार्वजनिक गर्दै महामन्त्री गगन थापा पक्षले अघि बढाएको विशेष महाधिवेशन प्रक्रिया बहिष्कार गर्न नेता-कार्यकर्तालाई आह्वान गरेको छ।

कांग्रेस बझाङका पूर्वसभापति हर्कजंगबहादुर सिंहले विशेष महाधिवेशनको नाममा ‘नाटक मञ्चन’ गरिएको आरोप लगाउँदै त्यसमा सहभागी नहुन आग्रह गरेका छन्। आइतबार सदरमुकाम चैनपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सिंहले महामन्त्री थापाले पार्टीभित्रको ठूलो शक्तिलाई समेट्न नसकेको र मनोमानी ढङ्गले अघि बढेको दाबी गरे।

उनले नियमित महाधिवेशनका लागि यसअघि नै पार्टीले निर्णय गरिसकेको दाबी गर्दै भने, ‘हामीले पुस १० गते नै नियमित अधिवेशनका लागि निर्णय गरिसकेका थियौँ र वैशाखमा महाधिवेशन गर्ने गरी क्यालेन्डर पास भइसकेको थियो। तर सानेपाले संवादको वातावरण सिर्जना गर्नुको साटो अद्यावधिकका नाममा चार-पाँच महिना समय लम्बाउने काम ग¥यो। सानेपाका साथीहरू वार्तामा नलागेपछि हामी विषम परिस्थितिमा पुगेका हौँ।’

पार्टीभित्र एकताको वातावरण बन्न नसकेपछि आफूहरूले राष्ट्रिय भेला आयोजना गरेको सिंहले बताए। उनका अनुसार उक्त भेलाले बीपी कोइरालाका पुत्र डा. शशांक कोइरालालाई संयोजक तोकेको थियो। डा. कोइरालाको संयोजकत्वमा बसेको बैठक तथा सभापति शेरबहादुर देउवा नेतृत्वको वैधानिक केन्द्रीय कार्यसमितिले नियमित महाधिवेशनको नयाँ कार्यतालिका स्वीकृत गरिसकेको उनले दाबी गरे।

देउवा पक्षीय केन्द्रीय कार्यसमितिले तय गरेको कार्यतालिकाअनुसार असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन, मंसिर ४ गते प्रदेश अधिवेशन तथा मंसिर २१ देखि २३ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने भनिएको छ।

पूर्वसभापति सिंहले विशेष महाधिवेशन प्रक्रिया नाटकीय भएको आरोप लगाउँदै त्यसमा सहभागी नहुन र १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले तोकेको असोज १५ गतेको वडा अधिवेशनमा सहभागी हुन नेता-कार्यकर्तालाई आग्रह गरे।

केन्द्रीय विवादसँगै बझाङ कांग्रेसमा पनि दुई पक्षबीचको दूरी बढेको छ। शनिबार मात्रै सदरमुकाम चैनपुरमा कांग्रेस बझाङका वर्तमान सभापति खडक बोहरालगायतका नेताहरूको बैठकले विशेष महाधिवेशनअन्तर्गतका अधिवेशन प्रक्रियामा सहभागी हुन नेता-कार्यकर्तालाई आह्वान गरेको थियो।

त्यसको भोलिपल्ट पूर्वसभापति सिंहले पत्रकार सम्मेलनमार्फत विशेष महाधिवेशन प्रक्रिया बहिष्कार गर्न आह्वान गरेपछि बझाङ कांग्रेसमा दुई पक्षबीचको विवाद थप सतहमा आएको हो।

बझाङमा देउवा र थापा पक्षले छुट्टाछुट्टै भेला तथा बैठक गर्न थालेपछि तल्लो तहका नेता-कार्यकर्ता भने अन्योलमा परेका छन्। आगामी अधिवेशनको प्रक्रिया कुन पक्षको कार्यतालिकाअनुसार अघि बढ्ने भन्ने विषयले जिल्लाको कांग्रेस राजनीतिमा थप विवाद निम्त्याउने देखिएको छ।

ranechhap