काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सहकारी ठगीमा संलग्न जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित सहकारी ठगीसम्बन्धी पुस्तक विमोचनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले राजनीतिक संरक्षणको आधारमा ठगलाई जोगाउन नहुने बताए । तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी ठगीमा संलग्न पार्टी सभापति रवि लामिछानेलाई जोगाउन देशव्यापी आन्दोलन नै गरेको आरोप लगाए । ठगीमा संलग्नलाई जोगाउन आन्दोलन गर्ने रास्वपा पहिलो पार्टी भएको उनको भनाइ छ । उनले एमालेले गलत गर्नेलाई कारबाहीको दायरामा ल्याउने पनि दाबी गरे ।
उनले आफ्नो पार्टीसँग जोडिएका र सहकारी ठगीमा संलग्न भएको पाइएका इच्छाराज तामाङ, ढोरपाटनका मेयर देवकुमार नेपाली र सहकारी विभागका पूर्वप्रमुख केबी उप्रेतीलाई कारबाही गरेको उल्लेख गरे । उनले कुनै राजनीतिक दलका नेतामाथि कानुनी कारबाही हुँदा त्यसलाई स्वीकार गरेर कानुनलाई सहयोग गर्नुपर्ने बताए । तर, सभापति पक्राउ परेपछि रास्वपाले देशव्यापी आन्दोलन गरेर ‘उपद्रव’ मच्चाएको उनको आरोप छ ।
उनले भने, ‘जसले ठगेका छन्, बिनामुलाहिजा उनीहरूलाई कारबाही गर्ने कुरा जरुरी छ, अहिले सहकारी पीडितहरूले जे आन्दोलन गरिरहनुभएको छ, त्यसप्रति हाम्रो ऐक्यबद्धता छ । जहाँसम्म हाम्रो कुरा हो, इच्छाराज तामाङजी हामीसँगै कुनै बेला जोडिनु भएको हुनाले मैले दुई–तीन वटा कुराहरू प्रस्ट गरौँ । पहिलो कुरा, जुन औँलामा विष लाग्छ त्यही औँला झर्छ । नेकपा एमालेका ५–६ लाख पार्टी सदस्यमध्ये सबै मान्छे असल नै छन् भन्ने म दाबी गर्दिनँ । तर गल्ती गरेको थाहा पाउँदा चाहे इच्छाराज तामाङजी होस्, चाहे ढोरपाटनको मेयर देवकुमार नेपालीजी होस्, चाहे हाम्रो सहकारी विभागमा हुनुहुन्थ्यो केबी उप्रेतीजी होस्, या अरू कोही होस् । उहाँहरूलाई पार्टीले कारबाही गरेको छ ।’
उनले सहकारी ठगीका कारण सबैभन्दा बढी साना बचतकर्ता पीडित बनेको उनको भनाइ छ । सहकारीबाट रकम लिएर जग्गा कारोबारमा लगाउने प्रवृत्तिले पनि सहकारी क्षेत्रमा थप समस्या देखिएको बताए । उनले सहकारी पीडितको रकम फिर्ता हुने सुनिश्चितताका लागि सरकारले आवश्यक पहल गर्नुपर्ने बताए ।






































