वि.सं.२०८३ भदौ ४ बिहीवार

राप्रपा बागमती संसदीय दलमा विवाद: दलका नेता उद्धव थापाविरुद्ध अविश्वास प्रस्ताव दर्ता

khanepani

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। पार्टी र संसदीय दलको आधिकारिक निर्णयविपरीत दलका नेता उद्धव थापाले नेकपा एमालेका किरण थापामगरलाई मुख्यमन्त्रीमा समर्थन गरेपछि बहुमत सांसदहरूले उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन्।

दलका प्रमुख सचेतक कुमारी तामाङले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई पत्र पठाउँदै नेता थापाले स्वेच्छाचारी ढंगले व्यक्तिगत लेटरप्याड प्रयोग गरी समर्थन जनाएको जानकारी गराएकी छन्। राप्रपा केन्द्रीय कार्यसम्पादन समितिले साउन २० गते बागमती सरकार गठन प्रक्रियामा सहभागी नहुने र कुनै पनि दललाई समर्थन नगर्ने स्पष्ट निर्देशन दिएको थियो।

यसअघि साउन २१ गते दलका नेता थापाकै अध्यक्षतामा बसेको संसदीय दलको बैठकले समेत सरकार निर्माणको खेलमा नलाग्ने निर्णय गरेको थियो, जसको माइन्युटसमेत प्रदेश प्रमुखसमक्ष बुझाइएको छ। दलको कुनै औपचारिक बैठक नबसी व्यक्तिगत लेटरप्याडबाट समर्थन पत्र बुझाएको विषय सञ्चारमाध्यममार्फत थाहा पाएपछि आफूहरू आश्चर्यचकित भएको प्रमुख सचेतकले उल्लेख गरेकी छन्।

पार्टीको बृहत्तर हितविपरीत गएको भन्दै संसदीय दलका बहुमत सदस्यले भदौ १ गते नै थापाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिसकेका छन्। यस कदमसँगै बागमती राप्रपामा सरकारलाई समर्थन गर्ने वा नगर्ने विषय मात्र नभई संसदीय दलको नेतृत्व नै परिवर्तन गर्नेसम्मको संकट देखिएको छ।

ranechhap