काठमाडौँ । देशभर हाल मनसुनी वायुको प्रभाव कायम रहँदा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसको प्रभावले अहिले देशका पहाडी भेग तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागमा साधारणतया बदली रहेको छ। मधेस प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली देखिएको छ। हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका हिमाली र पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही भूभाग तथा मधेस र कोशी प्रदेशका तराईका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुनसक्नेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना औँल्याइएको छ।
आज राति पनि हिमाली र पहाडी भूभागमा साधारणतया बदली तथा तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ। यस अवधिमा हिमाली क्षेत्रका थोरै स्थान र पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा समेत चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।







































