वि.सं.२०८३ साउन ७ बिहीवार

विद्युत प्राधिकरणले विद्युत‌को तार छुँदा घाइते भएका बालकलाई १५ लाख क्षतिपूर्ति दिने

khanepani

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नवलपरासी (सुस्ता पूर्व) त्रिवेणी गाउँपालिका–२ घुसेनीमा ११ केभी विद्युत् प्रसारण लाइनको तार छोएर गम्भीर घाइते भई दुवै हात गुमाएका बालकलाई उपचार खर्चसहित कुल १५ लाख ७१ हजार २५० रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने भएको छ ।

प्राधिकरण सञ्चालक समितिको बैठकले उपचार खर्च, क्षतिपूर्ति र कुरुवा खर्चसहितको उक्त रकम स्वीकृत गरेको हो ।

प्राधिकरणका अनुसार नवलपरासी (सुस्ता पूर्व) को त्रिवेणी गाउँपालिका–२, घुसेरीस्थित आमा समूहको भवनको छतमा खेलिरहेका क्रममा बालकले नजिकै रहेको ११ केभी प्रसारण लाइनको तार छुँदा सो दुर्घटना भएको थियो । स्वीकृत रकम सम्बन्धित वितरण केन्द्रमार्फत पीडित बालकको परिवारलाई उपलब्ध गराइने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले दुर्घटना क्षतिपूर्ति विनियमावली, २०६७ को विनियम ११ को उपनियम १ बमोजिम क्षतिपूर्ति र औषधि उपचारको खर्च भुक्तानी गर्दै आएको छ ।

प्राधिकरणको विनियमावली अनुसार २ लाख रुपैयाँसम्मको क्षतिपूर्ति र औषधोपचार विभागीय प्रमुख, २ लाखदेखि ५ लाख रुपैयाँसम्म सम्बन्धित उपकार्यकारी निर्देशक, ५ लाख देखि १० लाख रुपैयाँको मुख्य प्रशासकीय अधिकृत र १० लाखभन्दा बढीको रकम सञ्चालक समितिले निर्णय गर्नुपर्ने व्यवस्था छ ।

ranechhap