काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले पार्टीपंक्तिलाई हरेस नखाई अगाडि बढ्न निर्देशन दिएका छन्।
४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै अहिले चुनौती आइरहेको भएपनि चुनावी परिणामलाई लिएर आत्तिन नहुने बताए।
उनले भने, ‘चुनौतीको सामना गर्ने हो। मानव जातिले कहिले पनि हरेस खाएको छैन, हामीले हरेस खाने कुरा आउँदैन। अहिलेको चुनावको परिणाम के भयो भन्ने कुरालाई मात्रै हेर्ने होइन। यस्तो परिणामहरू आइरहेको हुन्छ, भारतमा जम्मा चार सिटमा सीमित भएको बीजेपी अहिले हेर्दै हुनुहुन्छ? कति पटक चुनाव हारेका अमेरिकाका प्रधानमन्त्री अब्राहम लिङ्कन थाहा छँदै छ, त्यसैले हामीले अगाडि बढ्ने हो।’
उनले पार्टीका कतिपय व्यक्तिमा अहिले विचलन देखिएको आरोप लगाए।
उनले थपे, ‘कतिपय व्यक्तिहरूमा अहिले पनि विचलन आएको देखिन्छ। तर त्यसमा आत्तिनुपर्ने केही पनि छैन। ती विचलित भएका व्यक्तिहरू अझै खुट्टा हाम फालेर गएका व्यक्तिहरू फेरि दुई वटै खुट्टा उचालेर फेरि आउँदै छन्, आत्तिनुपर्ने केही पनि छैन। आउँछन्, अनुभव हासिल गर्छन्, अनुभव हासिल गरिसकेपछि उनीहरूले फेरि त्यो कटु अनुभवबाट शिक्षा लिएर कसैलाई विचलित नहुनका लागि प्रेरणा दिएर अगाडि बढ्नुपर्ने हुन्छ।’
देशलाई फेरि नयाँ बाटोमा लिएर जाने काम गर्न सक्नुपर्ने बताए।






































