काठमाडौं । फिफा विश्वकप २०२६ का क्रममा अर्जेन्टिनाले निर्णायक तथा भिडियो सहायक निर्णायक प्रणालीबाट अनुचित फाइदा पाएको भन्ने बहसबीच पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले त्यससम्बन्धी एउटा पोस्ट ‘लाइक’ गरेको दाबी सामाजिक सञ्जालमा भाइरल भएको छ । तर तथ्य परीक्षणमा उक्त दाबी पुष्टि हुन सकेको छैन ।
सामाजिक सञ्जालमा फैलिएको दाबीअनुसार स्पेनी पत्रकार पिलार रोड्रिगेज लोसान्तोसले अर्जेन्टिनाको पक्षमा निर्णय भएको आरोप लगाएको भिडियोमा रोनाल्डोले ‘लाइक’ गरेको दाबि गरिएको थियो । त्यसपछि उनले पनि अर्जेन्टिनालाई फिफाले सहयोग गरेको आरोपलाई समर्थन गरेको चर्चा फैलिएको थियो ।
तर तथ्य परीक्षणका क्रममा रोनाल्डोको आधिकारिक इन्स्टाग्राम खातामा उक्त पोस्टमा उनको ‘लाइक’ भेटिएन । यसले उनले कहिल्यै ‘लाइक’ नगरेका हुन सक्ने वा ‘लाइक’ गरेर पछि हटाएका हुन सक्ने दुई सम्भावना देखिए पनि कुनै पनि दाबी पुष्टि गर्ने ठोस प्रमाण फेला नपरेको बताइएको छ ।
विश्वकपका क्रममा इजिप्ट र स्विट्जरल्यान्डविरुद्धका खेलमा भिडियो सहायक निर्णायक प्रणाली र निर्णायकका केही निर्णयलाई लिएर विवाद भएको थियो । यद्यपि फिफाले अर्जेन्टिनालाई पक्षपात गरिएको आरोप अस्वीकार गर्दै प्रतियोगिताका निर्णायक निष्पक्ष रहेको जनाएको छ । फिफाका निर्णायक प्रमुख पियरलुइगी कोलिनाले आधारहीन आरोपको फुटबलमा कुनै स्थान नरहेको स्पष्ट पारेका छन् ।






































