वि.सं.२०८३ साउन ६ बुधवार

सौर्यमण्डल बाहिर पृथ्वीजस्तै ग्रहमा पहिलो पटक वायुमण्डल भेटिएको प्रमाण

khanepani

काठमाडौं । वैज्ञानिकहरूले पहिलो पटक सौर्यमण्डल बाहिर रहेको पृथ्वीजस्तै चट्टानी ग्रहमा वायुमण्डल रहेको प्रमाण फेला पारेका छन् । अनुसन्धानकर्ताहरूका अनुसार यो खोजले पृथ्वीबाहेक पनि जीवनका लागि अनुकूल वातावरण भएका ग्रह हुन सक्ने सम्भावनालाई थप बलियो बनाएको छ ।

हार्वर्ड विश्वविद्यालयको नेतृत्वमा गरिएको अध्ययनअनुसार एलएचएस ११४० बी नामक ग्रहको वायुमण्डलमा हिलियम ग्यास रहेको पुष्टि भएको हो। पृथ्वीबाट करिब ४८ प्रकाश वर्ष टाढा रहेको यो ग्रह आफ्नो सूर्यभन्दा सानो र चिसो रातो ताराको परिक्रमा गरिरहेको छ । यो ग्रह जीवनका लागि सम्भावित अनुकूल तापक्रम भएको क्षेत्रभित्र रहेको वैज्ञानिकहरूको भनाइ छ ।

अनुसन्धानका प्रमुख लेखक डा. कोलिन चेरुबिमले यो उपलब्धिलाई अन्तरिक्ष विज्ञानका लागि ऐतिहासिक उपलब्धि भएको बताएका छन् । उनका अनुसार पहिलो पटक अर्को ताराको जीवनयोग्य क्षेत्रमा रहेको पृथ्वीजस्तै चट्टानी ग्रहमा वायुमण्डल भेटिएको हो ।

वैज्ञानिकहरूले हालसम्म सौर्यमण्डल बाहिरका ६ हजारभन्दा बढी ग्रह पत्ता लगाइसकेका छन् । तीमध्ये सयौं ग्रह जीवनका लागि उपयुक्त तापक्रम हुने क्षेत्रमा रहे पनि पृथ्वीजस्तै साना र चट्टानी ग्रह भने केही दर्जन मात्रै छन् । यिनैमध्ये पहिलो पटक एलएचएस ११४० बी मा वायुमण्डल रहेको प्रमाण फेला परेको हो ।

अनुसन्धानकर्ताहरूले हालसम्म हिलियम ग्यास मात्र पुष्टि भएको र यसले मात्र जीवन सम्भव नहुने स्पष्ट पारेका छन् । तर वायुमण्डलको तल्लो तहमा पानी वा जीवनका लागि आवश्यक अन्य ग्यास हुन सक्ने सम्भावना रहेको उनीहरूको अनुमान छ । जीवनको प्रत्यक्ष प्रमाण भने अहिलेसम्म फेला नपरेको अध्ययनमा उल्लेख गरिएको छ ।

हार्वर्ड विश्वविद्यालयकै अर्का वैज्ञानिक डा. डेभिड शार्बोनोले ब्रह्माण्डमा पृथ्वीबाहेक अन्यत्र पनि जीवन छ कि भन्ने मानव जातिको सबैभन्दा ठूलो जिज्ञासाको उत्तर खोज्ने दिशामा यो अध्ययन महत्वपूर्ण उपलब्धि भएको बताएका छन् ।

यसैबीच, वैज्ञानिकहरूको ध्यान के–२–१८ बी र ट्रापिस्ट–१ प्रणालीका ग्रहहरूतर्फ पनि केन्द्रित छ । यद्यपि ती ग्रहहरूमा जीवनको सम्भावनाबारे हालसम्म कुनै ठोस निष्कर्ष निस्किएको छैन। नयाँ खोजले भने सौर्यमण्डल बाहिर जीवनयोग्य ग्रहको खोजलाई नयाँ दिशा दिएको वैज्ञानिकहरूको विश्वास छ ।

ranechhap