वि.सं.२०८३ साउन ६ बुधवार

सिक्किम सुरुङ दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो, पाँच जना अझै बेपत्ता

khanepani

काठमाडौँ । भारतको सिक्किम राज्यस्थित नाम्ची जिल्लामा निर्माणाधीन सुरुङ भत्किँदा मृत्यु हुने श्रमिकको संख्या २० पुगेको छ । पाँच जना अझै सुरुङभित्रै फसेको र उनीहरूको उद्धार कार्य जारी रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । २४ घण्टाभन्दा बढी समयदेखि श्रमिकहरू फसेकाले मृतक संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ।

दक्षिण सिक्किमको समरदुङ क्षेत्रमा निर्माणाधीन तिस्ता चरण–६ जलविद्युत् आयोजनाको सुरुङभित्र गत जुलाई २० मा दुर्घटना भएको थियो । भारतको सरकारी स्वामित्वको जलविद्युत् कम्पनी एनएचपिसीका अनुसार चट्टानभित्र थुनिएको मिथेन ग्यास अचानक विस्फोट हुँदा ठूलो दुर्घटना भएको हो । विस्फोटपछि सुरुङभित्र बाक्लो धुवाँ र विषाक्त ग्यास फैलिएको थियो।

एनएचपिसीका अनुसार दुर्घटनाका बेला सुरुङभित्र २५ जना श्रमिक कार्यरत थिए । उद्धार टोलीले हालसम्म २० जनाको शव फेला पारेको छ भने पाँच जनाको खोजी जारी छ । जिल्ला प्रशासनले कम्पनीको उपस्थिती विवरण र अन्य अभिलेखका आधारमा श्रमिकहरूको संख्या पुष्टि गरेको जनाएको छ ।

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले दुर्घटनामा ज्यान गुमाउने प्रत्येक श्रमिकका परिवारलाई चार लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन् । घाइते प्रत्येक व्यक्तिलाई ५० हजार रुपैयाँ उपलब्ध गराइने जनाइएको छ । त्यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकका परिवारलाई दुई लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ सहयोग प्रदान गरिने घोषणा गरेका छन्।

तिस्ता चरण–६ जलविद्युत् आयोजना भारतको ठूलो जलविद्युत् विकास संस्था एनएचपिसी लिमिटेडद्वारा निर्माणाधीन आयोजना हो । दुर्घटनापछि सुरक्षाका मापदण्ड र निर्माण प्रक्रियामाथि पनि प्रश्न उठ्न थालेका छन् । उद्धार टोलीले बाँकी फसेकाहरूको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाएको छ ।

ranechhap