काठमाडौं। कतारको रास लाफान औद्योगिक सहरस्थित एक ग्यास प्लान्टमा ठूलो विस्फोट हुँदा ५४ जना घाइते भएका छन् भने १८ जना बेपत्ता भएका छन्।
कतार प्रशासनका अनुसार रास लाफान औद्योगिक क्षेत्रमा भएको विस्फोटपछि व्यापक आगलागी भएको थियो। आपत्कालीन उद्धार टोलीहरू तत्काल घटनास्थलमा परिचालन गरिएका थिए र केही समयमै आगो नियन्त्रणमा लिइएको बताइएको छ।
कतारको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार विस्फोटमा ५४ जना घाइते भएका छन् भने १८ जना अझै बेपत्ता छन्। उनीहरूको खोजी कार्य जारी रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार विस्फोट एक प्राविधिक दुर्घटनाका कारण भएको हो। घटनापछि ग्यास चुहावट भए पनि त्यसले सर्वसाधारणको सुरक्षामा कुनै खतरा नपुर्याएको बताइएको छ।
गृह मन्त्रालयले भनेको छ, “कतार अन्तर्राष्ट्रिय खोज तथा उद्धार समूहले नागरिक सुरक्षा टोलीसँग मिलेर बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेको छ।”
विस्फोटका कारण घरेलु बजारमा ग्यास आपूर्ति गर्ने उक्त प्लान्टमा कति क्षति पुग्यो भन्नेबारे भने अधिकारीहरूले कुनै जानकारी दिएका छैनन्।
यसैबीच, एक प्रत्यक्षदर्शीले समाचार संस्था रोयटर्ससँग कुरा गर्दै विस्फोटको ठूलो आवाज राजधानी दोहासम्म सुनिएको बताएका छन्।






































