काठमाडौं । नेकपा एमालेका नेता विशाल भट्टराईले पार्टीप्रति हमला जारी रहेको बताएका छन्। सदस्यता नवीकरण कार्यशालालाई सम्बोधन गर्दै अनैतिक रूपमा पार्टीमाथि हमला भइरहेको बताए ।
उनले भने, ‘निर्वाचन परिणाम प्रतिकुल आयो। त्यसपछि हाम्रा पार्टीका विरुद्ध हमला जारी नै छ । सरकार गठन भएको केही घण्टा नबित्दै हाम्रा पार्टीका अध्यक्ष, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गर्ने काम गर्यो । कार्की आयोगलाई हामीले सुरुवात देखि नै अवैधानिक भन्दै छौँ, त्यो कार्की आयोगले पनि १ लाख ४१ हजार व्यक्तिहरूको टेलिफोन निगरानी गरेको भनेको छ। त्यो निगरानीमा पार्टी अध्यक्षको कहीँ कतै पनि गल्ती नदेखिँदा नदेखिँदै पनि, प्रमाण नभेटिँदा नभेटिँदै पनि उहाँलाई पक्राउ गर्यो र अन्ततः त्यो पक्राउ गलत थियो भन्ने कुरा अदालतले साबित गर्यो।’
उनले पार्टीमाथि गरिएको हमलाले नपुगेर पपुलिष्टहरू देशका विरुद्ध हमलामा उत्रिएको बताए।
उनले थपे, ‘अहिले हाम्रो देशको भौगोलिक अखण्डता र सार्वभौमसत्तामाथि प्रश्न उठ्ने गरी बोलिरहेका छन्। संसद्को रोष्टममा उभिएर खुले आम प्रधानमन्त्री हामी अतिक्रमणकारी हौँ, अरूको भूगोल हामी कब्जा गर्छौँ भनेर घोषणा गरिरहेका छन् ।’









































