वि.सं.२०८३ जेठ ३० शनिवार

महिला संघले भन्यो, ‘प्रधानमन्त्रीमा कूटनीतिक विषयमा परिपक्वताको अभाव झल्किन्छ’

khanepani

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था महिला संघले प्रधानमन्त्री बालेन शाहले सीमाको विषयमा दिएको अभिव्यक्तिमा कूटनीतिक अपरिपक्वता भएको टिप्पणी गरेको छ ।

प्रधानमन्त्री शाहले सीमा समस्याको बारेमा अपरिपक्व र राष्ट्रहित विपरीत अभिव्यक्तिप्रति दिएको महिला संघको निचोड छ । महिला संघको अध्यक्ष मिना खरेलद्वारी जारी विज्ञप्तिमा प्रधानमन्त्री शाहको बोलीप्रति आपत्ति जनाइएको छ ।

‘राष्ट्रको कार्यकारी नेतृत्वमा रहेको व्यक्तिले संसद जस्तो गरिमामय र जिम्मेवार मच्चमा कुनै ठोस ऐतिहासिक आधार, तथ्य वा प्रमाणबिना राष्ट्रिय हित प्रतिकूल असर पार्ने किसिमको अभिव्यक्ति दिनु अत्यन्त गैरजिम्मेवार, आपत्तिजनक तथा निन्दनीय कार्य हो,’ संघकी अध्यक्ष खरेलले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता भनाइले राष्ट्रिय स्वाभिमानप्रतिको संवेदनशीलता र कूटनीतिक विषयमा अपेक्षित परिपक्वताको अभाव झल्काउने मात्र होइन, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको विश्वसनीयता र सीमा सम्बन्धी स्थापित अडानलाई समेत कमजोर बनाउने खतरा उत्पन्न गर्दछ ।’

प्रधानमन्त्री शाहले सांसदहरूको जवाफ दिने क्रममा जेठ १९ गते संसद्‌मा नेपाले पनि भारतको सीमा मिचेको बताएका थिए । उक्त भनाइ सरकारको आधिकारिक धारणा हो, कुनै राजनीतिक दलको दृष्टिकोण हो वा प्रधानमन्त्रीको व्यक्तिगत विचार मात्र हो भन्ने विषयमा स्पष्टताको माग महिला संघले गरेको छ ।

ranechhap