काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले नेपाल र भारतलाई नै थाहा नपाएको सीमा विवादबारेको विषय कहाँबाट आयो र प्रधानमन्त्रीले कसरी थाहा पाए भनेर प्रश्न गरेको छ ।
प्रधानमन्त्री बालेन शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिमा नेकपाले यस्तो टिप्पणी गरेको हो ।
राष्ट्रिय सभाको बैठकमा बोल्दै नेकपामा सांसद विष्णुबहादुर विश्वकर्माले प्रतिनिधिसभामा सांसदले सोधेका प्रश्न भन्दा परक गएर प्रधानमन्त्रीले सीमा विवादबारे बोलेको समेत आरोप लगाएका छन् ।
उनले भनेका छन्, ‘हालसम्म नेपाललाई र भारतलाई थाहै नभएको, सीमा विज्ञहरूले समेत जानकारी नपाएको, कहीँ कतैबाट पनि पुष्टि नभएको कापेरकल्पित, आधारहीन, नांगो नाटकीय अभिव्यक्ति दिएर सच्चा नेपालीलाई लज्जवोध मात्रै गराइएन । नेपालको हित विपरीत बोलेर राष्ट्रघात गर्नु भयो ।’
गत आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेनले नेपाल–भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका थिए ।
त्यसक्रममा उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ– भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’
यस्तो अभिव्यक्तिको विरोध गर्दै नेकपाले यो विषय कहाँबाट कसरी आयो भनेर प्रश्न गरेको हो । यसलाई सांसद विश्वकर्माले बिखण्डनकारी अभिव्यक्तिको संज्ञा दिएका हुन् ।
उनले प्रधानमन्त्री बालेनको राजीनामा समेत माग गरेका छन् ।









































