काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री बालेन्द्र साहले प्रतिनिधि सभामा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन् ।
खनालले उक्त अभिव्यक्तिलाई गम्भीर, दुखद, गलत र राष्ट्रविरोधी भएको टिप्पणी गरेका छन् । उनका अनुसार प्रधानमन्त्री साहले नेपालले पनि भारतका भूमि मिचेको भन्ने आशयमा अभिव्यक्ति दिएर संवेदनशील विषयलाई हलुका बनाउने काम गरेका छन् ।
उनले नेपालका जनता लामो समयदेखि विदेशी अतिक्रमणविरुद्ध संघर्ष गर्दै आएको स्मरण गराउँदै अहिले पनि देशमाथि अतिक्रमणका समस्या रहेको अवस्थामा त्यस्ता विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिनु गलत भएको बताए । खनालले प्रधानमन्त्रीले कुन तथ्य, प्रमाण र कागजातका आधारमा यस्तो अभिव्यक्ति दिएको हो भन्ने प्रश्न समेत उठाएका छन् ।
उनका अनुसार उक्त भनाइले देशभित्र र बाहिर रहेका करिब तीन करोड नेपालीको देशभक्तिपूर्ण भावनामा चोट पुगेको छ । उनले यस्तो अभिव्यक्ति दिने व्यक्तिलाई प्रधानमन्त्री पदमा बस्न नमिल्ने टिप्पणी पनि गरेका छन् । साथै उनले प्रधानमन्त्री साहले माफी नसमागेसम्म सबै देशभक्त जनता र शक्तिहरूलाई विरोध र भर्त्सनामा उत्रन आग्रह गरेका छन् ।
खनालले प्रधानमन्त्रीका अभिव्यक्तिलाई संसदको अभिलेखबाट तत्काल हटाउन पनि सभामुखसँग अनुरोध गरेका छन् ।







































