जनकपुरधाम । नेकपा एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले जनमत पार्टीका संसदीय दलका नेता चन्दन सिंहमाथि कडा टिप्पणी गरेका छन् ।
आज मुख्यमन्त्री कृष्ण प्रसाद यादवले लिएको विश्वासको मतमाथिको छलफलमा जनमत पार्टीका नेता चन्दन सिंहले नेपाली कांग्रेस–एमाले गठबन्धनलाई ‘अप्राकृतिक गठबन्धन’ भएको टिप्पणी गरेका थिए ।
त्यसको केही समयपछि प्रदेशसभामा बोल्दै एमाले संसदीय दलका नेता यादवले जनमत पार्टीलाई लक्षित गर्दै प्रतिउत्तर दिएका हुन् ।
उनले एमाले जनमत पार्टी भन्दा ठूलो संघीयतावादी शक्ति रहेको दाबी गर्दै जनमतले एमालेमाथि संघीयताको पाठ पढाउन राम्रो नहुने बताए ।
‘जेनजी विद्रोह हुँदा हाम्रो नेतृत्व मात्रै असुरक्षित भएको थिएन, तपाईंहरुको कार्यालयसमेत जलाइएको थियो,’ उनले भने, ‘त्यसैले एमालेमाथि औँला उठाउँदा आफ्नो बास्तविकता पनि हेर्नुपर्छ।’
जनमत पार्टीलाई लक्षित गर्दै उनले ‘आफ्नो आङको भैँसी नदेख्ने, अर्काको आङको जुम्रा ठ्याक्कै देख्ने प्रवृत्ति’ नदेखाउन आग्रह गरे।









































