काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण हालसम्म ८७ हजार ८६३ जना नेपालीले अनलाइन फर्म भरेर परराष्ट्र मन्त्रालयको सम्पर्कमा आएका छन् ।
त्यसमध्ये अधिकांश सकुशल रहेको र केही नेपाल फर्किन चाहेको कुरा पनि राखेको हुनाले त्यसलाई फर्काउने पहल सम्बन्धित निकायबाट भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको हो ।
परराष्ट्र मन्त्रालयमा रहेको २४ घण्टे कन्ट्रोल रुममा पनि फोन तथा म्यासेजहरू आएको मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रले बताए । हालसम्म १६० वटा फोन कल, ५० वटा मेल, ११० वटा अनलाइन म्यासेज तथा १० जना भौतिक उपस्थित जनाएर आफ्नो गुनासो टिपाएको उनले बताए ।
यद्यपि विगतको भन्दा हाल फोन कल तथा म्यासेज कम आएको हुनाले कन्ट्रोल रूपमा २४ घण्टाबाट घटाएर बिहान ९ बजेदेखि बेलुका ९ बजेसम्म बनाएको मन्त्रालयले जानकारी गराएको छ ।
पश्चिम एसियामा देखिएको द्वन्द्व समाधान उन्मुखतर्फ गइरहेको बताउँदै प्रवक्ता क्षेत्रीले होर्मुजको अवरोध हटाउन भइरहेको बहुपक्षीय प्रयासलाई नेपालले समर्थन गर्दै आएको बताए । पश्चिम एसियाका देशहरूमा रहेका नेपालीहरू सकुशल रहेको दाबी पनि मन्त्रालयले गरेको छ ।









































