पोखरा । पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका सुकुमबासीहरुलाई आफ्नो विवरण ३ दिनभित्र बुझाउन उर्दी जारी गरेको छ । बसपार्कमा बस्दै आएका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई आफ्नो विवरण वडा कार्यालयमा बुझाउन भनिएको हो ।
बुधबार सूचना जारी गर्दै महानगरले निवेदनको ढाँचा समेत दिएर विवरण बुझाउन भनेको छ । पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको उक्त जग्गामा यसअघि नै महानगरपालिकाबाट निस्सा वितरण गरिसकेको छ । अब सुकुमबासीले जेठ ८ गतेसम्ममा वडा कार्यालयमा कागजातसहित उपस्थित हुनुपर्छ ।
त्यसका लागि महानगरपालिकाबाट वितरण गरिएको निस्साको प्रतिलिपि, घरमूली र परिवारका सदस्यको नागरिकताको प्रतिलिपि, घर मूली र परिवारका सदस्यबिचको नाता प्रमाणित पत्र वा स्व–घोषणा पत्र पनि सँगै पेस गर्नुपर्ने महानगरले जनाएको छ ।
यसमा परिवारका सदस्यको नाम, उमेर, पेसा, नागरिकता वा जन्मदर्ता नम्बर, नाता, शैक्षिक योग्यता र अशक्तताको अवस्थाबारे खुलाउनुपर्नेछ । तोकिएको समयभित्र विवरण नबुझाएमा महानगर जिम्मेवार नहुने सूचनामा उल्लेख छ । पोखराले बसपार्क क्षेत्रका सुकुमबासी हटाउने तयारी गरेको छ ।
यस अघि जिल्लास्थित सुरक्षा निकायसँग छलफल गरेर तयारी गरिरहेको छ । सरोकारवालाहरूले पनि बसपार्क निर्माणमा आफ्नो साथ रहने प्रतिबद्धता जनाएका छन् ।
बसपार्क क्षेत्रमा ४ सय भन्दा बढी सुकुमबासी रहेको अनुमान छ । २ सय ५ रोपनी जग्गा २०३२ सालमा अधिग्रहण गरिएकोमा हाल विभिन्न नाममा कब्जा गरेर ५० रोपनी भन्दा कम रहेको अध्ययन रिपोर्टहरूले उल्लेख गरेका छन् ।









































