वि.सं.२०८३ वैशाख २८ सोमवार

एसईई नतिजाको अन्तिम तयारी, परीक्षा नियन्त्रक भन्छन्, ‘कम्प्युटरमा इन्ट्री भइसक्यो’

khanepani

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।

सरकारले भोलिसम्म नतिजा सार्वजनिक गर्न अन्तिम ‘समयसीमा’ दिएको थियो । यसवर्ष चैत १९-२९ मा एसईई सम्पन्न भएको थियो ।

कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले भने, “सरकारले वैशाख २९ गतेभित्र एसईईको नतिजा सार्वजनिक गर्न अन्तिम समयसीमा दिएको थियो, त्यो सीमाभित्र नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेका छौँ, परीक्षार्थीको प्राप्ताङ्क ‘कम्प्युटर’ मा ‘इन्ट्री’ गर्ने काम सकिएको छ, कि कतै केही गल्ती छ कि भनेर रुजु गर्ने काम पनि करिब सकिएको छ, कुनै प्राविधिक समस्या नआए मंगलबार नतिजा सार्वजनिक गर्छौँ ।”

बोर्डको परीक्षा नियन्त्रण कार्यालयले नतिजा हेर्न ‘एसएमएस’ गरेर वा सिधै ‘वेबसाइट’ मा गएर एसईईको नजिता हेर्न सकिने व्यवस्था गरेको छ ।

यस वर्ष गत चैत १९ गतेदेखि देशभरका एक हजार ९६६ परीक्षा केन्द्रबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले र जापानको एक परीक्षा केन्द्रबाट २३ जना परीक्षामा सहभागी भएका थिए ।

विगतमा परीक्षा सम्पन्न भएको करिब तीन महिनामा नतिजा सार्वजनिक हुने गरेको भए पनि यस वर्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले परीक्षा सुरु हुनु भन्दा पहिले नै बोर्डलाई एक महिनाभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएका थिए । परीक्षा भएकै केन्द्रमा परीक्षा सकिएको तीन दिनभित्र परीक्षाको उत्तरपुस्तिका परीक्षण गरिएको थियो ।

यसरी हेर्न सकिन्छ नतिजा

बोर्डले आज एक सूचना जारी गर्दै एसइईको नतिजा हेर्ने वेबसाइटसहितको सूची सार्वजनिक गरेको छ । जस अनुसार एसएमएस, आइभिआर र विभिन्न वेबसाइटबाट नतिजा हेर्न सकिने जनाएको छ । विद्यार्थीहरूले आफ्नो मोबाइलको मेसेज बक्समा गई आधिकारिक सर्टकोडमार्फत नतिजा हेर्न सक्ने कार्यालयले जनाएको छ ।

त्यस्तै, नेपाल टेलिकमको १६०० मा कल, एसएमएस र युएसएसडीमार्फत नतिजा हेर्न सकिने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट (www.see.gov.np), राष्ट्रिय परीक्षा बोर्ड (www.neb.gov.np) र नेपाल टेलिकम (www.see.ntc.net.np)लगायतबाट नतिजा हर्न सकिन्छ ।

ranechhap