काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले न्यायपालिका लगायतका संवैधानिक निकायहरूमा दलीय भागबण्डाका आधारमा हुने राजनीतिक नियुक्तिहरूको शृङ्खला तत्काल अन्त्य गर्न प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँग आग्रह गरेका छन्।
सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै उनले नयाँ प्रधानन्यायाधीश नियुक्ति हुनै लाग्दा यस्तो टिप्पणी गरेका हुन्।
उनले विगतको विकृत परम्परा र कथित वरीयताका नाममा पार्टीगत भागबण्डाको आधारमा झन्डै एक दशकका लागि न्यायालयमा सेटिङ गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन्। नेता थापाले आफ्नो कुनै व्यक्ति विशेषसँग कुनै रिस, राग वा पूर्वाग्रह नरहेको र कतिपय आकांक्षीहरू योग्य समेत रहेको स्पष्ट पारेका छन्।
यद्यपि, उनले गत भदौमा भएको जेन्जी आन्दोलन, फागुन २१ गतेको नयाँ जनादेश र त्यसैको बलमा बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएको घटना पुरानै बेथिति र विकृत परम्परालाई निरन्तरता दिनका लागि नभएको स्मरण गराएका छन्। पार्टीगत भागबण्डा र राजनीतिक सेटिङकै कारण नेपालमा अस्थिरता, भ्रष्टाचार र कानुनी राज्यको उपहास भएको उनको दाबी छ।
उनले कथित वरीयता र परम्पराको दुहाइ दिएर राजनीतिक दलका सहयोगी, कार्यकर्ता वा शुभचिन्तकहरूलाई न्यायालयको सर्वोच्च पदमा पुरस्कृत गर्ने परिपाटी अब रोकिनुपर्ने माग गरेका छन्। देशमा सुशासनको जग बसाल्न र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न प्रधानमन्त्री शाहले यो विकृतिको अन्त्य गर्दै नयाँ इतिहास रच्ने हिम्मत गर्ने विश्वास थापाले व्यक्त गरेका छन्।
नयाँ सरकारले यस किसिमको साहसिक कदम चाल्ने आशा राख्दै उनले प्रधानमन्त्री शाहलाई शुभकामना समेत दिएका छन्।








































