काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार १ सय ५ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २६ लाख ६० हजार रुपैयाँ राजस्व दाखिला भएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ९३, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १ सय ३३ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १ सय ३९ जनालाई कारबाही गरिएको हो ।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १ सय ३२, निषेधित क्षेत्रमा हर्न बजाउने ७९, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ८७, एकतर्फी सडकमा सवारी चलाउने ७९ र अन्य सवारी नियम पालना नगरेका एक हजार १ सय ६४ जनालाई कारबाही गरिएको हो ।








































