वि.सं.२०८३ वैशाख २६ शनिवार

झण्डै १६०० नियुक्ति खारेज हुँदा कसरी जोगिए मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सतिशकुमार देव ?

khanepani

काठमाडौँ । सरकारले हालै विभिन्न समयका राजनीतिक नियुक्ति खारेज गर्न अध्यादेश जारी गरेपछि सरकारी, अर्धसरकारी तथा स्वायत्त निकायहरूमा पदाधिकारी पदमुक्तिको प्रक्रिया अघि बढेको छ। तर, नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार पदमुक्त नहुँदा सरकारको निर्णयप्रति विविध प्रश्न उठेको छ।

अध्यादेशअनुसार विभिन्न पेशागत काउन्सिलका रजिस्ट्रारसमेत स्वतः पदमुक्त भए । तर, जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सतिशकुमार देवलाई यथावत् राखिएको छ । स्वास्थ्य मन्त्रालयस्रोतका अनुसार अध्यादेश जारी हुनुअघि उनको पदमुक्तिबारे छलफल हुँदा प्रधानमन्त्री कार्यालयबाट अहिले केही नगर्न निर्देशन आएको थियो । डा. देवको नियुक्ति बदर रोकिनुका कारणबारे मन्त्रालयमा विविध चर्चा हुने गरेको छ ।

उनी राष्ट्रियसभाका अध्यक्ष एवम् नेकपाका नेता नारायण दाहालको दबाबमा नियुक्त भएका थिए । अहिले प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्की निकट मानिन्छन् । डा. कार्की प्रधानमन्त्री बालेन्द्र शाह निकट मानिन्छन् । प्रधानमन्त्री शाह काठमाडौँ महानगर प्रमुख हुँदा डा. देव महानगरभित्र सञ्चालित सुलभ फार्मेसीसँग सम्बन्धित थिए । उनी आफैँ पनि स्वास्थ्य मन्त्रीका प्रमुख सल्लाहकार डा. मनोहर प्रधानसँग विगतदेखि नै निकट छन् । उनी दन्त चिकित्सक हुन् । स्वास्थ्य मन्त्री निशा मेहताका पति डा. सरोज सिंह नेपाल प्रहरीको प्राविधिक सेवाअन्तर्गत डीएसपीको दर्जामा छन्, उनी दन्त चिकित्सक हुन् ।

रजिस्ट्रार डा. सतिशकुमार देव भन्छन्, ‘मैले कसैलाई भेटेकै छैन, भनेको पनि थिइनँ ।’ नेपाल प्रेसले सम्पर्क गर्दा रजिस्ट्रार डा. सतिशकुमार देवले आफूले पद जोगाउन कसैसँग भनसुन नगरेको र एक महिनादेखि कार्यालयका नियमित सरोकारवालाबाहेक कसैसँग भेट पनि नगरेको बताए ।

उनले भने, मन्त्रालयबाट अरु नियुक्तिका साथीहरू पदमुक्त भएको पत्र आयो, त्यसमा मेरो नाम छैन । म सरकारबाट नियुक्त भएको हुँदा सरकारले जे निर्देशन दिन्छ, त्यही गर्छु । पदमुक्त भनेको भए म यहाँ रहन मिल्दैन थियो । यो पद दैनन्दिन थुप्रै जिम्मेवारी बहन गर्नुपर्ने कार्यकारी पद हो । झट्टै पदमुक्त गर्दा धेरै कुरामा असर गर्छ भनेर पनि होला । मेरो नियुक्ति मन्त्रिपरिषद्को बैठकले गरेको हो । यसरी त्यसलाई राजनीतिक नियुक्ति भन्न मिल्छ, तर मेरो कुनै किसिमको राजनीतिक पक्षधरता छैन । म विषय विज्ञ र एक प्राविधिक व्यक्ति हो । जनस्वास्थ्य क्षेत्रमा यस्तो जिम्मेवारी निभाउन म इच्छुक पनि हो । तर, म नेपाल सरकारको नीति र निर्देशन जे हुन्छ, त्यस अनुसार काम गर्छु ।’

ranechhap