वि.सं.२०८३ वैशाख ११ शुक्रवार

विकासका लागि तीनै तहका सरकारबीच समन्वय, सहकार्य र सह-अस्तित्व हुनुपर्छ: मुख्यमन्त्री शाह

khanepani

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय, सहकार्य र सह(अस्तित्व अनिवार्य रहेको बताएका छन्।

कैलालीको लम्कीचुहा नगरपालिका–४ बलियामा स्थापना गरिएको यातायात व्यवस्था सेवा कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री शाहले जनतालाई प्रभावकारी सेवा प्रवाह गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे। उनले उक्त कार्यालय स्थापना भएपछि कैलालीको पूर्ववर्ती क्षेत्रका नागरिकले सहज सेवा पाउने विश्वास व्यक्त गरे।

“जनप्रतिनिधिहरूले जनताले दिएको जनमतको सम्मान गर्दै उत्तरदायी र जवाफदेही हुनुपर्छ,” उनले भने, “मुलुकको समग्र विकासका लागि तीनै तहका सरकारबीच सहकार्य अपरिहार्य छ।”

मुख्यमन्त्री शाहले चालु आर्थिक वर्षमा यस क्षेत्रको विकासका लागि प्रदेश सरकारले करिब एक अर्ब रुपैयाँ बराबरका बहुवर्षीय योजनाको स्रोत सुनिश्चित गरिएको जानकारी दिए। साथै, लम्कीचुहा प्रादेशिक अस्पतालका लागि साढे ४ करोड रुपैयाँ विनियोजन गरिएको उल्लेख गर्दै उनले सो रकम समयमै खर्च गर्न नसके फ्रिज हुने चेतावनी पनि दिए।

अस्पताल सञ्चालनका लागि आवश्यक परे कानुनी दायराभित्र रही लचकता अपनाउन प्रदेश सरकार तयार रहेको उनले बताए। नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित सरकार अघि बढिरहेको उनको भनाइ थियो।

त्यसैगरी, टिकापुरमा प्रस्तावित विज्ञान तथा प्राविधिक विश्वविद्यालय निर्माणका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा उनले जोड दिए। आधुनिक प्रविधिको युगमा प्रतिस्पर्धी जनशक्ति उत्पादन आवश्यक रहेको बताउँदै उनले उक्त विश्वविद्यालयले क्षेत्रीय पहिचान स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

यातायात व्यवस्था सेवा कार्यालय स्थापना भएपछि लम्कीचुहा नगरपालिका, मोहन्याल गाउँपालिका, जानकी गाउँपालिका, टिकापुर नगरपालिका, जोशीपुर गाउँपालिका र बर्दगोरिया गाउँपालिकाका नागरिकलाई सेवा लिन सहज हुने अपेक्षा गरिएको छ।

कार्यालय सञ्चालनका लागि स्थानीय झुप्रे रावतले पाँच वर्षका लागि आफ्नो घर निःशुल्क उपलब्ध गराएका छन्। वडा नम्बर ४ का अध्यक्ष ताराप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन वडा नम्बर ३ का अध्यक्ष लवबहादुर शाहीले गरेका थिए।

ranechhap