वि.सं.२०८३ वैशाख ८ मंगलवार

वैशाख १ गतेदेखि ‘प्रथम बेलका प्राकृतिक, सांस्कृतिक र साहसिक महोत्सव’ हुने

khanepani

उदयपुर । उदयपुरको बेलका नगरपालिकामा ‘प्रथम बेलका प्राकृतिक, सांस्कृतिक र साहसिक महोत्सव’ हुने भएको छ । बेलका नगर पर्यटन विकास समिति, उदयपुर विकास बोर्ड र जिल्ला समन्वय समिति उदयपुरको संयुक्त आयोजनामा आउँदो वैशाख १ गतेदेखि ७ गतेसम्म महोत्सव हुने भएको हो ।

उदयपुर विकास बोर्डका अध्यक्ष बलदेव चौधरीले बेलकाको पर्यटन प्रवर्द्धनका लागि महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए । यो महोत्सवले उदयपुरको पर्यटन प्रवर्द्धन र समग्र विकासलाई टेवा पुर्‍याउने उनले बताए ।

‘आज उदयपुरलाई कस्तो बनाउने भन्ने साझा उद्देश्य ल्याउने बेला भएको छ । हामीले लामो समयदेखि उदयपुरको विकासका लागि काम गर्दै आएका छौँ । यो महोत्सव पनि उदयपुरको पर्यटन विकासका लागि आयोजना गर्न लागेका हौँ’, उनले भने ।

अध्यक्ष चौधरीका अनुसार महोत्सवमार्फत जिल्लाका प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता तथा साहसिक पर्यटनका सम्भावनाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गरिनेछ । महोत्सवमा विभिन्न सांस्कृतिक प्रस्तुति, स्थानीय परिकार प्रदर्शनी, साहसिक खेलकुद गतिविधि तथा पर्यटनसँग सम्बन्धित विविध आकर्षक कार्यक्रमहरू आयोजना गरिने छ ।

महोत्सवले उदयपुरका सबै पालिकालाई जोड्दै आर्थिक तथा सामाजिक सहकार्यलाई सुदृढ बनाउने चौधरीले बताए । मेलाले स्थानीय उत्पादन, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनसँगै रोजगारी सिर्जनामासमेत टेवा पुग्ने उनले जानकारी दिए ।

बेलामा पर्यटनको हब बन्न सक्ने समेत उनले जानकारी दिए । वैशाख १ गतेदेखि हुने महोत्सवमा २ गते म्याराथन, ३ गते साइकल यात्रा, ४ गते प्याराग्लाइडिङ, ५ गते विशेष कार्यक्रम गर्ने, ६ गते र्याफ्टिङ गर्ने, ७ गते महारानी मन्दिरको दर्शन गर्ने र समापन कार्यक्रम गर्ने योजना रहेको अध्यक्ष चौधरीले जानकारी दिए ।

0

ranechhap