वि.सं.२०८३ वैशाख १९ शनिवार

मतदान सकिएको २४ घण्टाभित्रै प्रत्यक्षतर्फको नतिजा प्रकाशित गर्छौँ : आयुक्त भण्डारी

khanepani

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान सकिएको २४ घण्टाभित्रै प्रत्यक्षतर्फको नतिजा प्रकाशन गर्ने बताएका छन् ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आग्रह गरेको आयुक्त भण्डारीले बताए ।

निर्वाचनको पूर्वसन्ध्यामा आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको भन्दै उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आग्रह गरेको हो ।

पत्रकार सम्मेलनमा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले संवैधानिक दायित्व अनुसार आयोग स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय निर्वाचनको दायित्व पूरा गर्न क्रियाशील रहेको बताए ।

भोलि अर्थात् फाल्गुन २१ गते बिहान सात बजेदेखि साँझ पाँच बजेसम्म देशभर सम्पन्न हुने मतदानका लागि आवश्यक मतपत्र, मतपेटिका तथा अन्य निर्वाचन सामग्री सबै मतदान केन्द्रमा पुराइसकिएको जानकारी गराउँदै आयुक्त भण्डारीले मतदाताले निर्बाध रूपमा आफूलाई मन परेको उम्मेदवार र राजनीतिक दललाई मतदान गर्न आग्रह गरे । यसका लागि आयोगले सम्पूर्ण शान्ति सुरक्षाको भरपर्दो प्रबन्ध मिलाइएको उल्लेख गरे ।

भण्डारीले मतदानपछि छिटो मतपेटिका संकलन गर्ने प्रयास रहेको र २४ घण्टाभित्र प्रत्यक्षतर्फको नजिता प्रकाशित गर्ने तयारीमा रहेको बताए । मतपेटिका सुरक्षाको सन्दर्भमा पहिलेदेखिको प्रचलनमा रहेको प्रावधानलाई परिवर्तन नगरिएको उनको भनाइ छ । भण्डारीले अहिले निर्वाचनका लागि उत्साह देखिएकाले खस्ने परिणाम पनि प्रतिशतमा बढ्ने र बदर हुने प्रतिशत पनि घट्ने देखिएको बताए ।

निर्वाचनमा प्रत्यक्षतर्फ तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने समानुपातिक निर्वाचन प्रणालीतर्फ तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् यस पटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् ।

निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ ।

ranechhap