विराटनगर । मोरङको दुई वटा निर्वाचन क्षेत्रबाट जेनजी आन्दोलनका अगुवाहरूले स्वतन्त्र रूपमा मनोनयन दर्ता गराएका छन् ।
मोरङको क्षेत्र नम्बर ६ बाट राम खत्री र क्षेत्र नम्बर ५ बाट सुजित साहले स्वतन्त्र रूपमा मनोनयन दर्ता गराएका हुन् । विराटनगरमा बसेर पत्रकारितामा सक्रिय खत्री जेनजी मुभमेन्टमा सहभागी थिए ।
उनले कुनै पनि दलमा आबद्ध नभई स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएको बताए । मोरङ क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला चुनावी मैदानमा छन् । यस्तै सोही क्षेत्रबाट एमालेका प्रभावशाली नेता विनोद ढकाल पनि उम्मेदवार बनेका छन् ।
पार्टीको सङ्गठनात्मक संरचना बलियो भएको यो क्षेत्रमा परिवर्तनका लागि मनोनयन दर्ता गराएको खत्रीले बताए । उनले भ्रष्टाचार मुक्त समाज, युवा स्वरोजगारको मुद्दा लिएर चुनावी मैदानमा होमिएको बताए ।
भोजपुर घर भई विराटनगरमा बस्दै आएका खत्री मोरङमा कान्छा उम्मेदवार हुन् । २५ वर्षका खत्री उनी द काउन्सिल अफ जेनजी मोरङका संयोजक समेत हुन् । उनले जेनजीको १० बुँदे म्यान्डेट कार्यान्वयन गर्न उम्मेदवार बनेको बताए ।
यसैगरी मोरङ क्षेत्र नम्बर ५ बाट सुजित साहले पनि मनोनयन दर्ता गराएका छन् । मोरङ ५ मा नेपाली कांग्रेसले फूलकुमार लालवानी, एमालेले मनोज अग्रवाल र नेपाली कम्युनिस्ट पार्टीले शिवकुमार मण्डललाई उम्मेदवार बनाएको छ ।
सो निर्वाचन क्षेत्रबाट राष्ट्रिय ऊर्जाशील पार्टीका अध्यक्ष योगेन्द्र मण्डल पनि चुनावी मैदानमा छन् । मण्डल ७९को निर्वाचनमा स्वतन्त्र रूपमा उठेर सो क्षेत्रबाट विजयी भएका थिए ।









































