काठमाडौँ । अविरल वर्षा र त्यसबाट सिर्जित बाढी तथा पहिरोका कारण देशका ६ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ६ वटा राजमार्ग एकतर्फी सञ्चालनमा रहेका छन्। नेपाल प्रहरीले आज दिउँसो १२:२० बजेसम्मको अवस्था सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो।
पूर्ण रूपमा अवरुद्ध राजमार्गहरू:
कोशी राजमार्ग: संखुवासभाको भोटखोला गाउँपालिका–५ (वरुण) र मकालु गाउँपालिका–३ (एकुवा) मा अवरुद्ध।
नेपाल–चीन जोड्ने पुल: रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ मा बाढीले पुल बगाउँदा नाका अवरुद्ध।
अरनिको राजमार्ग: सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ (कोदारी) मा पहिरोका कारण अवरुद्ध।
पृथ्वी राजमार्ग: धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० (बादरेमोड) मा पहिरोले अवरुद्ध।
नारायणगढ–मुग्लिन सडक: चितवनको इच्छाकामना गाउँपालिका–५ (तुइनखोला) मा पहिरोले पूर्ण रूपमा अवरुद्ध।
एकतर्फी सञ्चालनमा रहेका राजमार्गहरू:
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी: रसुवाको उत्तरगया गाउँपालिका–५ (नौबिसे) मा बाढीका कारण एकतर्फी सञ्चालनमा।
कालीगण्डकी करिडोर: बाग्लुङको कालाखोला र नवलपरासीको गैंडाकोट–३ (तरङ्गखोल) मा पहिरो र बाढीका कारण एकतर्फी सञ्चालनमा।
पूर्व-पश्चिम राजमार्ग: नवलपरासी पूर्वको विनयी त्रिवेणी नगरपालिका–२ (विश्वकर्मा मन्दिर र ६५ मोड) मा पहिरो र वर्षाका कारण एकतर्फी सञ्चालनमा।
मध्यपहाडी लोकमार्ग: रुकुम पूर्वको भूमे गाउँपालिका–४ (काँडाबगर) मा पहिरोले एकतर्फी सञ्चालनमा।
प्रहरीले अवरुद्ध सडकहरू खुलाउन आवश्यक प्रयास भइरहेको जनाएको छ। सडकको अवस्थाबारे थप जानकारी प्राप्त भएमा यात्रुहरूलाई सतर्क रहन र वैकल्पिक मार्ग प्रयोग गर्न सल्लाह दिइन्छ।









































