काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुका केन्द्रीय अध्यक्ष डा. सुजन कडरियाले फेसबुकमा राजीनामा दिएपछि अहिले सङ्गठन भित्र तीव्र विवाद र असन्तुष्टि पैदा भएको छ ।
अध्यक्ष कडरियाले आफूले दिएको राजीनामा फिर्ता लिएको घोषणा गरिसकेका छन् । त्यसपछि उनलाई स्वीकार गर्ने वा नगर्ने भन्ने विषयमा तीव्र मतभेद देखिन्छ ।
यसैबीच बागमती प्रदेशका इन्चार्जसहितका जिल्ला अध्यक्षहरूले हस्ताक्षर गर्दै एकता भाँड्ने गतिविधि नगर्न ध्यानाकर्षण गराएका छन् ।
केही दिन पहिले बागमती प्रदेशका केन्द्रीय सदस्य तथा जिल्लास्तरीय नेताहरूले कडरियाको नेतृत्वको विरोध जनाउँदै तत्काल नयाँ नेतृत्व चयन गर्न माग गरेका थिए । त्यस लगत्तै अहिले उनको नेतृत्वलाई बलियो बनाउनु पर्ने सहितको पत्रमा सामूहिक हस्ताक्षर गरिएको छ ।
‘हाल केही व्यक्तिहरूले अनेरास्ववियुको एकतालाई आघात पुराउने उद्देश्यले किर्ते हस्ताक्षर गरी मिडियाबाजी गर्नेजस्ता गैर जिम्मेवार क्रियाकलाप गरेका छन् । यसप्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ’ बागमती प्रदेश इन्चार्ज भुवन मैनालीसहितका १४ जनाले हस्ताक्षर गरिएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
उक्त पत्रमा अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित समितिको विरुद्धमा गतिविधि नगर्न पनि सुझाव दिइएको छ ।
सङ्गठनको एकता र मूल मूल्यहरूलाई सुरक्षित राख्न संविधानको रक्षा र बाह्य हस्तक्षेप विरुद्धमा दृढ भएर उभिन सङ्गठनको अनुशासनविपरीत हुने अवाञ्छित गतिविधि नगर्न र नगराउन उक्त ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
अघि भनिएको छ, ‘अनेरास्ववियु दृढतापूर्वक विश्वास गर्दछ की सङ्गठन एकताको बाटोमै सबल,सक्षम र जनआकाङ्क्षा पुरा गर्ने ऐतिहासिक यात्रालाई निरन्तरता दिन हामी आह्वान गर्दछौँ ।’
सामूहिक ध्यानाकर्षण पत्रमा प्रदेश इन्चार्ज भुवन मैनालीसहित केन्द्रीय सदस्यहरू सोनम मुक्तान, देवी सापकोटा निर्जला पोख्रेल र रिया मगरको हस्ताक्षर रहेको ।
त्यस्तै प्रदेश पदाधिकारी र जिल्ला अध्यक्षहरूमा प्रकाश कालाखेती, प्रशान्त ज पाण्डे, रामचन्द्र केसी, सबिन नेपाल, अजय दोङ, युवराज सुनुवार, सागर लामा , अनीश प्याकुरेल र सफल भट्टको हस्ताक्षर रहेको छ ।
अहिले एकता भाँड्न नहुने भन्दै आह्वान गरिएको पत्रमा हस्ताक्षर भएका केही पदाधिकारीहरूको यसअघि नयाँ नेतृत्वको लागि गरिएको मागमा पनि हस्ताक्षर रहेको थियो ।









































