काठमाडौं । काठमाडौं महानगरपालिकाले देशका ३५ दुर्गम स्थानीय तहका स्वास्थ्य संस्थालाई एम्बुलेन्स वितरण गरेको छ ।
पहिलो चरणमा देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनौट गरिएका ती पालिकाका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रका प्रतिनिधिलाई एम्बुलेन्स हस्तान्तरण गरियो ।
मेयर बालेन साहले केही दिनअघि एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड बनाई, स्वास्थ्य सुविधा अभावमा पिछडिएका स्थानलाई प्राथमिकता दिइएको सामाजिक सञ्जालबाट जानकारी गराएका थिए ।
महानगरले एम्बुलेन्स वितरणमा ७ वटा मापदण्ड तय गरेको थियो ।
काठमाडौं महानगरका स्वास्थ्य विभाग प्रमुख दिपक कुमार केसीले एम्बुलेन्स वितरणका लागि आवेदन माग गरिएकोमा विभिन्न स्थानीय तहबाट आएको आवेदनलाई हेर्दै मापदण्डका आधारमा सुविधासम्पन्न एम्बुलेन्स उपलब्ध गराइएको बताए ।










































