ललितपुर । ललितपुरको हरिसिद्धीमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर चढेको गाडीले बालिकालाई ठक्कर दिएपछि रोक्दै नरोकेको भेटिएको छ।
शनिबार बिहान सवा ७ बजे ललितपुर महानगरपालिका-२८ स्थित हरिसिद्धी माध्यमिक विद्यालय अगाडिको मूल सडकमा मन्त्री मगर चढेको को १ झ ६९९ नम्बरको सरकारी गाडीले बालिकालाई ठक्कर दिएको थियो। मन्त्री सवार गाडीले बालिकालाई ठक्कर दिएको सिसिटिभी फुटेजमा प्रष्ट देख्न सकिन्छ ।
उक्त भिडिओ फुटेजमा बालिका जेब्रा क्रसिङको केही अगाडिबाट बाटो काट्नै लाग्दा गाडीले ठक्कर दिएको थियो। ठक्करबाट बालिका गाडीको नजिकैबाट पछारिएकी थिइन्।
बालिका सडकमै लडेपनि सो गाडी भने रोक्दै नरोकी त्यहाँबाट अगाडि बढेको भिडिओ फुटेजमा देखिन्छ। गाडीको पछाडि आइरहेका मोटरसाइकलमा सवार एक महिलाले बालिकालाई सडकबाट उठाएको दृश्य भिडिओमा देखिएको छ।
ठक्कर दिने गाडीमा मन्त्री मगर सवार रहेको पुष्टि ललितपुर प्रहरीले गरिसकेको छ। ललितपुरका एसपी चक्रराज जोशीका अनुसार घाइते बालिका ११ वर्षीया बालिका उषा मगर सुनुवार छिन्। उनलाई उपचारका लागि बिएन्डबी अस्पताल लगिएको छ।
मन्त्री सवार गाडीलाई भने प्रहरीले गोदावरीबाट नियन्त्रणमा लिएको एसपी जोशीले जानकारी दिए। एमालेबाट मन्त्री भएका जोशी ललितपुरमा शुक्रबारदेखि सुरू भएको विधान महाधिवेशनमा सहभागी हुन शनिबार बिहान गोदावरी जाँदै थिए।







































