काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता रोक्ने पार्टीको निर्णयमाथि असहमतिसहित फरक मत राख्ने नेता कर्ण थापाको तयारीमा नेतृत्वले रोक लगाएको छ ।
गोदावरीमा जारी विधान महाधिवेशनको दोस्रो दिन उनी फरक मत वाचनका लागि मञ्चअघि उभिएका थिए । स्थायी कमिटी सदस्यसमेत रहेका नेता थापालाई फरक मत पढ्न दिने कार्यसूची हिजै तय भएको थियो । उनको प्रतिवेदन प्रतिनिधिलाई बाँड्न दिन पनि नेतृत्व तयार भएको थियो ।
सोहीअनुसार थापा फरक मत पढ्न तयार भए । तर, अध्यक्ष ओलीले केही दिनअघि ३ घण्टा थापा र आफूबीच वान टु वान कुरा भएको तर आफूलाई कन्भिन्स गर्न नसकेको हललाई बताए ।
एक प्रतिनिधिका अनुसार ओलीले ‘अस्ति १२ देखि ३ बजेसम्म तपाईँ र मेरो कुरा भएकै हो । किताब बाँड्न दिएकै छ । तपाईँले मलाई कन्भिन्स गर्न सक्नुभएन जानुस् ।’ भनेर रोक लगाए ।
उनी आधा घण्टासम्म उभिएर फरक मत नपढी बसेका थिए ।
थापाले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण नगर्ने, ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउनेलगायतको विषय समेटिएको ३२ पृष्ठ लामो फरक ३ दिनअघि च्यासलमा पेश गरेका थिए ।
बिहीबार साँझको सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि भण्डारीको पक्षमा फरक मत राखेका थिए । उनलाई उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले पनि साथ दिएका छन् ।
विधान महाधिवेशनमा विद्याको सदस्यताको विषय छलफल नहुने ओलीले बताइसकेका छन् ।







































