वि.सं.२०८१ फागुन ३ शनिवार

कोरोनाको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले बिहीबार बिहानैदेखि राजविराज नगर क्षेत्रमा कर्फ्यु

राजविराज । कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले बिहीबार बिहानैदेखि राजविराज नगर क्षेत्रमा कर्फ्यु लगाएको छ ।

नगरक्षेत्रका सडक र चोकहरू अहिले सुनसानजस्तै बनेको छन् । बुधबार जिल्ला सुरक्षा समितिको बैठकले कोभिड–१९ संक्रमण तीव्ररूपमा फैलिएपछि राजविराज नगरक्षेत्रमा निषेधाज्ञा आदेश जारी गर्ने निर्णय गरेको थियो ।

सोहीअनुसार बिहीबार बिहान ५ बजेदेखि नै कर्फ्यु लगाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । ‘अर्को आदेश नआउँदासम्मलाई राजविराज नगरक्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ’, उनले भने ।

निषेधित क्षेत्रमा अत्यावश्यक कामबाहेकका सम्पूर्ण आवतजावत, सवारीसाधन, पसल बन्द गरिएको छ ।

६ दिनअगाडि राजविराज– ६ का ७३ वर्षीय कोरोना संक्रमित १ व्यापारीको मृत्यु भएको थियो । त्यसअघि उनको सम्पर्कमा रहेको परिवारका पाँचै जनासहित अन्य मानिस, छरछिमेकमा पनि कोरोना पोजिटिभ देखिएपछि राजविराज नगरपालिकाको आग्रहमा निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको प्रहरी उपरीक्षक प्रसाईंले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार सप्तरी सदरमुकाम राजविराजमा कोरोना संक्रमण समुदायमा फैलिएको छ । बुधबार मात्रै राजविराजका १३ जनासहित थप १४ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य प्रमुख दुनियालाल यादवले बताए ।

Untitled