काठमाडौं । विहिवार बिहानैदेखि देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार नेपालमा मनसुनी वायुको प्रभाव कायमै रहनुका साथै मनसुनी न्यून चापीय रेखा पश्चिमी भूभागमा नेपालबाट दक्षिण सरेको छ भने पूर्वी भूभागमा नेपाल नजिक रहेको अवस्था छ ।
देशभर मनसुन कमजोर बन्दै गए पनि जोखिम भने अझै टरिनसके मौसमविद् शान्ति कँडेलले बताइन् ।
आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश र प्रदेश ५ का १/२ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद् कँडेलले बताइन् ।
आज राति ती प्रदेशका केही स्थानमा भारी वर्षा हुने भएकाले सतकर्ता अपनाउन उनले आग्रह गरिन् ।
आगामी ३ दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरूमा बहाव घट्ने र सतर्कता तलै हुने, आगामी ३ दिन प्रमुख र मझौला नदीमा ठूलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
कन्काई, कमला, वाग्मती, पश्चिम राप्ती र बबईमा बहाव घट्दो हुने तर कन्काई, कमला र वाग्मतीको केही सहायक नदीमा आकस्मिक बहाव आउनसक्ने भएकाले सचेत रहन भनिएको छ ।