काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारदेखि गर्न लागेको निषेधाज्ञाका लागि थप आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मंगलबार जारी गरेको थप आदेशमा विवाहका लागि प्रयोग गरिने सवारी साधनका लागि पास नचाहिने उल्लेख छ।
तर उक्त सवारीमा दुलहा-दुलही पनि हुनुपर्नेछ भने १५ जनासम्म जन्ती जान पास नचाहिने भएको छ। तर पार्टी प्यालेस सञ्चालन गर्नुपर्ने भए जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्नेछ।
साथै बैक तथा वित्तीय संस्था, वीमा एवं राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तीय कारोवार गर्ने सहकारी संस्थाका कर्मचारीले प्रयोग गर्ने निजी नम्बर प्लेटका सवारी साधनहरू सम्बन्धित कार्यालयको परिचय पत्रका आधारमा सञ्चालन हुन पाउनेछन्।
यस्तै कुरियर र डाँक सेवालाई पनि अत्यावश्यक सेवामा राखिएको छ।
काठमाडौं उपत्यकाभित्र वैशाख १६ देखि २२ गतेसम्म पहिलो चरणमा निषेधाज्ञा हुनेछ। मन्त्रिपरिषदले निषेधाज्ञा कम्तीमा १५ दिन गर्न भनेकोले वैशाख २२ गतेपछि पनि निषेधाज्ञा जारी रहनेछ। तर, यो दोस्रो आदेशमा पनि मिडिया हाउस र पत्रकारहरुलाई संबोधन गर्न सकेका छैनन । मिडिया हाउस प्रति सरकार अनुदार हुर्दै गएको छ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका पदाधिकारीहरुलाई एउटा आश्वासन दिए पनि पराजुली त्यसलाई समेट्न सकेका छैनन । 









































