टोटनह्यमले वेस्ट ह्यामलाई २-० गोलले पराजित गरेको छ। टोटनह्यामले पछिल्लो ८ खेलमा पहिलो जित निकालेको हो।
मंगलबार राति भएको खेलमा टोटनह्यामले ६४ मिनेटमा आत्मघाती गोलबाट अग्रता लिएको थियो।
वेस्ट ह्यामका चेक मिडफिल्डर टोमस साउचेकले टोटनह्यामका जिओभानीको कर्नर रोक्ने क्रममा आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए।
८२ मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गरेर टोटनह्यामको अग्रता दोब्बर पारे। जारी सिजनमा केनको यो १८औं लिग गोल हो।
जितपछि टोटनह्याम ३१ खेलबाट ४५ अंक जोड्दै सातौं स्थानमा उक्लिएको छ।
यता हारसँगै वेस्ट ह्याम भने संकटमा परेको छ। रेलिगेशनबाट बच्न संघर्षरत १७औं स्थानको वेस्ट ह्यामको ३१ खेलबाट २७ अंक छ।
रेलिगेशन जोनमा रहेको १८औं स्थानको वर्नमाउथको पनि २७ अंक नै छ। यद्यपी उसले एक खेल कम खेलेको छ।
त्यसैले वेस्ट ह्यामले रेलिगेशनबाट जोगिन बाँकी रहेका ७ खेलमा राम्रो खेलेर मात्र पुग्दैन अरु टिमको नतिजामा पनि भर पर्नु पर्नेछ।