अन्तर्राष्ट्रिय फुटबलमा स्पेनिस क्लब बार्सिलोना र फरवार्ड लिओनल मेसी पर्याय जस्तै हुन्। किनकी मेसीले बार्सिलोनाका उपाधि मात्र दिलाएका छैनन् दर्जनौ कीर्तिमान बनाएका छन्।
बुधबार ३३ वर्ष पूरा भएका मेसीले २००४ मा बार्सिलोनामा डेब्यू गरेका थिए। त्यसयता उनले ला लिगामा ४७८ खेल खेल्दै ४४० गोल गरेका छन्। यो स्कोर बार्सिलोनाका लागि मात्र होइन ला लिगाको पनि सर्वाधिक हो।
मेसीले बार्सिलोनाबाट ३४ ट्रफी उचालिसकेका छन्। त्यहि प्रदर्शनको आधारमा उनले ६ पटक बालन डि’अर अवार्ड आफ्नो पोल्टामा पारेका छन्। मेसी ६ पटक युरोपियन गोल्डेन सु अवार्ड हात पार्ने खेलाडी पनि हुन्।
अनेकौ कीर्तिमान बनाएका मेसीले सन् २०१२ मा क्लब र देशका ९१ गोल गरेका थिए। उनले सो वर्ष बार्सिलोनाका लागि ७९ गोल र अर्जेन्टिनाका लागि १२ गोल गरेका थिए। यी गोल ६९ खेलमा सम्भव भएका थिए।
बार्सिलोनाका लागि ६२९ गोल गरेका मेसी २०औं शताब्दीका महान् खेलाडी पेलेको कीर्तिमान तोड्नबाट १४ गोल टाढा छन्।
ब्राजिलियन लिजेन्ड पेलेले सन्तोस क्लबका लागि ६४३ गोल गरेका थिए। उनी एकै क्लबका लागि बढी गोल गर्ने खेलाडी हुन्। यो कीर्तिमान मेसीले निकट भविष्यमै तोड्ने सम्भावना छ।
मेसीले अहिलेसम्म ला लिगाको १० ट्रफी उचालिसकेका छन् भने ४ पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेका छन्। ६ पटक कोपा डेल रे, ३ पटक फिफा क्लब विश्वकप, ३ पटक युइएफए सुपरकप, ७ पटक स्पेनिस सुपरकप हात पारेका छन्।
मेसी करिअरको ७ सय गोलको नजिक छन्। क्लबका लागि ६२९ गोल गरेका उनले देशका लागि ७० गोल गरेका छन्।
सन् २००५ मा राष्ट्रिय टिममा डेब्यू गरेका उनले अहिलेसम्म १३८ क्याप जितिसकेका छन्। तर मेसी अर्जेन्टिनाको जर्सीमा सधैं अभागी सावित हुँदै आएका छन्।
मेसीले अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनाबाट राम्रो नखेलेका पनि होइनन्। तर उनी र उनको देश अर्जेन्टिना जहिले पनि अभागी सावित हुँदै आएको छ पछिल्ला वर्षहरुमा। अर्जेन्टिनाले सन् १९९३ यता कोपा अमेरिका फुटबलको उपाधि जित्न सकेको छैन भने विश्वकप १९८६ यता जितेको छैन।
मेसीकै कप्तानीमा खेलेका तीनवटा फाइनलमा चुकेको अर्जेन्टिना १९९२ यता उपाधिविहीन नै छ, उपाधिको खडेरी नै लागेको छ। सन् २००५ मा १८ वर्षको उमेरमा हंगेरीविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका मेसीले ठूला प्रतियोगितामा उपाधिबिहीन भएपछि सन् २०१६ मा अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिने घोषणा गरेका थिए।
तीन वर्षमा मेसीकै कप्तानीमा तीन ठूला प्रतियोगिताको फाइनलमा पुग्यो अर्जेन्टिना तर सबैमा उपाधिबिहीन भयो। त्यसैको चोटमा परेका मेसीले अन्तर्राष्ट्रिय खेलबाट विदा लिने अप्रत्यासित निर्णय गरेका थिए।
सन् २०१४ मा विश्वकप फुटबलको फाइनल पुग्यो तर जर्मनीसँग पराजित हुँदै उपविजेतामै सीमित भयो। विश्वकपमा उपाधिविहीन फर्किए पनि कोपा अमेरिकाको उपाधि जितेर विश्वकपमा लागेको घाउमा मल्हम लगाउने धुनमा रहेको अर्जेन्टिना फेरि २०१५ मा भएको कोपा अमेरिकाको फाइनलमा चुक्यो। आयोजक चिलीले पेनाल्टी सुटआउटमा मेसीको टोलीलाई पराजित गर्यो।
लगातार दोस्रो पटक मेसीकै कप्तानीमा कोपा अमेरिकाको फाइनल पुगेको अर्जेन्टिना फेरि २०१६ मा अभागी सावित भयो। अर्जेन्टिना समूह चरण र बाँकी खेलमा सानदार जित हात पार्दै फाइनल पुगेको टोली थियो, तर फाइनलमा फेरि तेस्रो पटक चुक्यो त्यो पनि मेसीकै कप्तानीमा, त्यो पनि चिलीसँगै हार्यो। अनि मेसीले तत्काल अन्तर्राष्ट्रिय खेल छाड्ने निर्णय लिएका थिए।
मेसीले राष्ट्रिय टोलीमा सन् २००५ मा डेब्यु गरे यता सन् २००८ मा ओलम्पिकमा स्वर्ण र २० वर्ष मूनिको विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाको जर्सीमा हासिल गरेको उपलब्धि हो।
सन् १९८६ को विश्वकपको सेमिफाइनलमा इंल्याण्डविरुद्धको खेलमा डियगो म्याराडोनाले हातले गोल गर्दै अर्जेन्टिनालाई फाइनल पुर्याएका थिए। त्यो फाइनलमा जर्मनीलाई पराजित गर्दै अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जित्यो। सायद गेरी लिनेकरको इंग्ल्याण्डलाई हातले हानेको गोलको श्राप लाग्यो, अर्जेन्टिनाले त्यसपछि विश्वकप जितेको छैन।
सन् १९८६ को विश्वकपमा इंल्याण्डविरुद्धको खेलमा म्याराडोनाले हातले गोल गरेपछि उनले त्यो गोललाई आफैंले ‘ह्यान्ड अफ गड’ अर्थात भगवानको हातको संज्ञा दिएका थिए।
म्यारोडानाकै गोलमा विश्वकप जितेपछि फेरि फुटबलमा अर्जेन्टिनाको नयाँ युग सुरु भएको भनियो। तर लियोनल मेसीको युगसम्म आउँदा अर्जेन्टिना उपाधिविहीन भयो, फाइनलमा पुगेर पनि सधै उपाधिबिहीन हुने अभागी टोली सावित भयो र टोलीमा रहेका स्टार खेलाडी अभागी नै ठहरिए।
कतियपले म्याराडोनाले हातले गरेको गोलपछि त्यसयता अर्जेन्टिनालाई भाग्यले पनि ठगेको टिप्पणी बेलाबेलामा गर्ने गरेको पाइन्छ।
मेसी अर्जेन्टिनी राष्ट्रिय टिममा उदाएसँगै उनकै महत्वपूर्ण योगदानमा अर्जेन्टिना पाँच पटक फाइनल पुग्यो तर चारपटक हार्यो अर्थात उपाधिविहीन भयो।
मेसीले क्लबमा खेलेजस्तै खेल मुलुकका लागि खेल्दैनन् भन्नु एउटा महान खेलाडी माथि अन्याय हुन्छ। तर यो पनि सत्य हो, मेसीले जसरी आफ्नो क्लबलाई जित दिलाउने गरेका छन्, आफ्नो देशको देशको सन्दर्भमा त्यतिकै अभागी ठहरिएका छन्।
मेसी स्वयम्ले क्लबमा राखेको कीर्तिमानी जस्तै अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनाका लागि पनि राखेका छन्। मेसी अर्जेन्टिनाका लागि टप स्कोरर हुन् उनले खेलेका १३८ खेलमा ७० अन्तर्राष्ट्रिय गोल गरेर आफ्नो क्षमता देखाइसकेका छन्।
मेसीले सन् २०१६ मा संन्यास घोषणा गरेपछि उनलाई फुटबलमा फर्काउन समर्थकले अभियान नै थालेका थिए। ‘डन्ट गो, लियो’ भनेर थालिएको अभियान क्षणभरै संसारभर फैलिएको थियो।
पछि ब्युनोस आयर्स मेयरले मेसीको मूर्ती बनाएर मेसीलाई संन्यास फिर्ता लिन आग्रह गरेका थिए। मेसीलाई संन्यास फिर्ता लिनका लागि अर्जेन्टिनाको राजधानीमा एकैपटक ५० हजार दर्शक उपस्थिति भएका थिए। त्यसको एक सातापछि मेसीले संन्यास फिर्ता गरेका थिए।
१२ अगस्ट २०१६ मा संन्यास फिर्ता लिएका मेसीको काँधमा अर्जेन्टिनालाई सन् २०१८ को विश्वकप छनोट गराउने जिम्मा आएको थियो। विश्वकप छनोट जारी रहदा मेसी २०१७ मा चार खेलको अन्तर्राष्ट्रिय प्रतिबन्धमा परे। त्यसपछि अर्जेन्टिनाको विश्वकप छनोट यात्रा संकटमा पर्यो।
अर्जेन्टिना १९७० पछि विश्वकप मा छनोट नहुने अवस्था आउँदा मेसीमाथि सारा अर्जेन्टिनाका समर्थकको भरोसा थियो। तर महत्वपूर्ण खेलमा अर्जेन्टिनाले इक्वेइडरलाई ३–१ ले हरायो। खेलमा पछि परेको स्थिति उल्टाउने क्रममा मेसीले ह्याट्रिक गर्दै अर्जेन्टिनालाई विश्वकपमा पुर्याएका थिए।
सन् २०१८ को विश्वकपमा अर्जेन्टिनाको राम्रो सुरुवात हुन सकेन। पहिलो खेलमा अर्जेन्टिनालाई आइसल्यान्डले १-१ गोलको बराबरीमा रोकेको थियो। खेलमा मेसीले पेनाल्टीमा गोल चुकाउदा अर्जेन्टिनाले जितबाट बिमुख बनेको थियो। दोस्रो खेलमा अर्जेन्टिनालाई क्रोएसियाले ३-० ले हरायो। अन्तिम खेलमा नाइजेरियालाई २-१ हराएर अर्जेन्टिनाले अन्तिम १६ मा स्थान पक्का गरेको थियो। तर अन्तिम १६ मा फ्रान्ससँग पराजित हुँदा अर्जेन्टिना विश्वकपबाट बाहिरियो।
अन्तर्राष्ट्रिय प्रतियोगितामा लगातार अफल भइरहेका मेसीका लागि कोपा अमेरिका २०१९ अर्को अवसर ठानिएको थियो। तर कोपामा पनि मेसी फेरि चल्न सकेनन्। समूहको पहिलो खेलमा पराजित भएको अर्जेन्टिनाले दोस्रो खेलमा पाराग्वेसँग बराबरी खेलेको थियो। पाराग्वेविरुद्ध मेसीले पेनाल्टीमा गोल गरेका थिए।
क्वार्टरफाइनलमा भेनेजुएलालाई २-० ले पराजित गरेर सेमिफाइनलमा स्थान पक्का गरेपछि अर्जेन्टिनाको भाग्य फर्कने धेरै विश्वास गरेका थिए। भाग्य फर्काउन अर्जेन्टिनाले सेमिफाइनलमा चिरिपरिचित प्रतिद्वन्द्वी ब्राजिललाई हराउनु पर्ने थियो। तर मेसी र उनको टिम अर्जेन्टिना फेरि एक पटक अभागी ठहरियो। ब्राजिलसँग २-० ले पराजित हुँदै सेमिफाइनलबाट घर फर्कन बाध्य भयो।
२०२० कोपा अमेरिकालाई मेसीले महत्वपूर्ण प्रतियोगिताको रुपमा हेरेका थिए। किनकी यसपटकको कोपा अर्जेन्टिनाले आयोजना गर्दै थियो। घरेलु मैदानमा हुने प्रतियोगितामा मेसीलाई उपाधि जित्ने ठूलो अवसर हुने ठानिएको थियो। तर कोरोनाभाइरस कारण प्रतियोगिता एक वर्ष धकेलियो।
क्लब फुटबलमा भाग्यमानी ठहरिने मेसी अर्जेन्टिनाको जर्सीमा भने सधै अभागी ठहरिए। उमेर ढल्कदै जादा मेसीले अब कति खेल्छन् र त्यसमा अर्जेन्टिनाले कस्तो सफलता पाउला त्यो भने हेर्न बाँकी छ।