29, Apr, 2024

खोटाङको दिक्तेल रुपाकोट खार्मीस्थित निभारेका ३१ वर्षीय धनजित राईको हत्या आरोपमा ३ जना पक्राउ

बागमती भ्वाइस
बागमती भ्वाइस
३ बैशाख २०८१, सोमबार १६:५३ | २ हफ्ता अगाडी

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित निभारेका ३१ वर्षीय धनजित राईको हत्या आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँका २२ वर्षीय विकास राई, १८ वर्षीय आशन राई र २८ वर्षीय गणेश राई छन् ।

गत १ वैशाखको राति करिब ८ बजे स्थानीय भीमबहादुर बस्नेतको मकैबारीमा छुरा प्रहार गरी धनजितको हत्या भएको थियो । हत्याको घटनापछि फरार उनीहरुलाई सोही नगरपालिकाको वडा नं. १० पाथेकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए ।

‘उनीहरु विरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ’, उनले भने । प्रहरीका अनुसार उनीहरु तीनैजनाले धनजितको हत्यामा संलग्नता स्वीकार गरेका छन् ।

प्रहरीका अनुसार त्यस दिन पक्राउ परेका युवाले मादक पदार्थ सेवन गरी भीमबहादुर बस्नेतलाई उनकै घरमा गएर कुटपिट गरेका थिए । धनजित भीमबहादुरले गुहार मागेपछि पुगेका थिए ।

त्यसै क्रममा युवाहरुले धनजितमाथि छुरा प्रहार गरेको पाइएको प्रहरीको भनाइ छ । धनजितले आफू घाइते भएपछि घटनास्थलबाट साहिला भाइलाई फोन गरेर जानकारी गराएका थिए ।

भाइसँगको फोन सम्पर्कपछि खोज्दै जाँदा धनजितलाई मकैबारीमा मृत फेला पारिएको स्थानीय उमेश राईले जानकारी दिए ।

मृतक धनजित र भीमबहादुर गाउँमा घर बनाउने काम गर्थे । त्यस दिन तीन युवाको आक्रमणबाट भीमबहादुर र उनकी पत्नी प्रेमकुमारी सामान्य घाइते छन् ।
विकास र आशन गत वर्ष वैशाख ३ गते अभद्र व्यवहार मुद्दामा पक्राउ परेर तारेखमा छुटेका थिए । अर्का आरोपित गणेश चोरी मुद्धामा कारागार बसेर छुटेका व्यक्ति हुन् ।

३ बैशाख २०८१, सोमबार १६:५३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading