05, May, 2024

एकै ‌ओभरमा ६ छक्का प्रहार गरेका दीपेन्द्र भन्छन्, ‘अहिले उत्कृष्ट लयमा छु’

बागमती भ्वाइस
बागमती भ्वाइस
२ बैशाख २०८१, आईतवार १२:२१ | ३ हफ्ता अगाडी

काठमाडौ । काठमाडौ एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगितामा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।

ओमानमा भइरहेको प्रतियोगिताको पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराउँदा दीपेन्द्रले २ विकेट लिए भने ११ बलमा २० रन जोडे। खेलमा उनी प्लेयर अफ दि म्याच समेत भए।

शनिबार कतारविरूद्धको खेलमा त दीपेन्द्रले कीर्तिमानी प्रदर्शन गरे। उनले ब्याटिङमा नटआउट ६४ रन जोडे। कतारका कमरान खानविरूद्ध २०औं ओभरको ६ बलमै ६ छक्का प्रहार गर्दै कीर्तिमानी प्रदर्शन गरे।

नेपालका लागि एकै ओभरमा ६ छक्का प्रहार गर्ने दीपेन्द्र पहिलो नेपाली खेलाडी बने।

उनको कीर्तिमानी प्रदर्शनमा नेपालले २१० जोड्यो। २११ रनको लक्ष्य पछ्याएको कतारविरूद्ध दीपेन्द्रले २ विकेट समेत लिन सफल हुँदा नेपालले ३२ रनले खेल जित्यो।

खेलपछि उनले आफू अहिले उत्कृष्ट लयमा रहेको प्रतिक्रिया दिएका छन् भने एकै ओभरमा ६ छक्का प्रहार गर्दा खुसी लागेको बताएका छन्।

‘जसरी हाम्रा ओपनरले राम्रो सुरुवात गरेका थिए। हाम्रो हातमा विकेट पनि बाँकी थियो। त्यहिँअनुसार हामीले ब्याटिङ गर्‍यौं। जब म ब्याटिङमा गएँ, मेरो सोचाइ प्रहार गर्ने थियो। तर सुरुवातमा प्रहार गर्न सकेको थिइन। बिस्तारै आफूलाई सम्हाले। अन्त्यमा ६ छक्का हाने त्यसमा एकदमै खुसी लागेको छ,’ उनले एसिसीसँगको कुराकानीमा भनेका छन्।

उनले एकै ओभरमा ६ छक्का प्रहार गरेपछि नेपाली क्रिकेट टिमका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघका सचिव पारस खड्काले खुसी व्यक्त गर्दै सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका थिए।

जसमा दक्षिण अफ्रिकाका पूर्वखेलाडी जोन्टी रोड्सले दीपेन्द्रले ब्याटिङ मात्र होइन बलिङ र फिल्डिङ पनि राम्रो गर्न सक्ने भन्दै प्रतिक्रिया जनाएका छन्। धनगढी प्रिमियर लिगका दौरान नेपाल आएको बेला रोड्सले दीपेन्द्रको प्रदर्शन नजिकबाट देखेका थिए।

दीपेन्द्र पनि आफू अहिले उच्च लयमा रहेको बताउँछन्। क्रिकेट कमेन्टेटर एन्ड्रियु लियोनार्दसँगको कुराकानीमा दीपेन्द्रले आफू अहिले उच्च लयमा रहेको बताएका हुन्। उनले यसअघि आफूले दिनभर अभ्यास गरेको नतिजा अहिले देखिन थालेको समेत बताएका छन्।

‘म आफू एकदमै फर्ममा छु जस्तो लागिरहेको छ। बलिङबाट पनि एकदमै राम्रो भइरहेको छ। ब्याटिङ र फिल्डिङ पनि राम्रो भइरहेको छ। पहिला काठमाडौंमा दिनभर अभ्यास गर्थे, त्यो अहिले देखिरहेको जस्तो लाग्छ,’ उनले भने।

२४ वर्षीय अलराउन्डर दीपेन्द्र शनिबार अल अमेरातमा एकै ओभरमा ६ छक्का प्रहार गरेसँगै समग्रमा क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने पाँचौ र टी-२० मा तेस्रो खेलाडी बने।

टी-२० अन्तर्राष्ट्रिय खेलमा भारतका युवराज सिंह र वेस्ट इन्डिजका किरोन पोलार्डले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए।

युवराजले इंग्ल्यान्डका स्टुअर्ट ब्रोडविरुद्ध २००७ को टी-२० विश्वकपको एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए। पोलार्डले सन् २०२१ मा श्रीलंकाका अकिला धनञ्जयलाई ६ छक्का प्रहार गरेका थिए।

एकदिवसीय खेलमा दक्षिण अफ्रिकाका हर्शल गिब्सले नेदरल्याण्ड्सविरुद्ध २००७ को एकदिवसीय विश्वकपमा एकै ओभरमा ६ छक्का हिर्काएका थिए। अमेरिकाका जसकरण मल्होत्राले २०२१ मा पपुवा न्युगिनीविरुद्धको एकदिवसीय खेलमा यस्तै उपलब्धि हासिल गरेका थिए।

सन् २०१६ मा यू–१९ क्रिकेट विश्वकपपछि दीपेन्द्रले राष्ट्रिय टिममा स्थान बनाएका थिए। १७ वर्षको उमेरमै सिनियर टिममा परेका दीपेन्द्रले यसअघि पनि ६ बलमा ६ छक्का प्रहार गरेका थिए। तर त्यो एकै ओभरमा भने थिएन।

यसअघि गत असोजमा चीनमा भएको एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ऐरीले लगातार ६ छक्का हानेका थिए, तर यो उपलब्धि दुई ओभरमा भएको थियो। त्यतिबेला उनले टी–२० मा ९ बलमा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्दै युवराज सिंहको १२ बलमा कीर्तिमान तोडेका थिए।

आगामी जेठ दोस्रो सातादेखि वेस्ट इन्डिज र अमेरिकामा सुरु हुने टी-२० विश्वकपअघि दीपेन्द्र फर्ममा हुनु नेपाली टिमका लागि खुसीको खबर हो। विश्वकपमा नेपाल समूह ‘डी’ मा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँगै छ।

विश्वकपअघि ओमानमा एसिसी प्रिमियर कप खेल्दा नेपाललाई विश्वकपको तयारीका लागि ठूलो फाइदा समेत भएको छ।

प्रिमियर कपको नेपाल साविक विजेता हो। प्रतियोगितामा १० टिम सहभागी छन्। समूह ‘ए’ मा रहेको नेपालसँगै समूहमा मलेसिया, कतार, हङकङ र साउदी अरेबिया छन्। कपको आयोजक ओमान समूह ‘बी’ मा छ। समूहमा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन्।

पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा कतारलाई हराएको नेपालले अब तेस्रो खेल हङकङसँग वैशाख ३ गते र चौथो खेल साउदी अरेबियासँग वैशाख ५ गते खेल्नेछ।

समूहमा शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल वैशाख ७ गते र फाइनल वैशाख ९ गते हुनेछ।

यो प्रतियोगिता जित्ने टिम सन् २०२५ को एसिया कपमा पुग्नेछ। सन् २०२५ को एसिया कप टी-२० फर्म्याटमा हुनेछ। शीर्ष तीन टिमले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्नेछन्।

नेपाली टिमले ओमानमा प्रिमियर कप खेलेपछि घरेलु मैदानमा वेस्ट इन्डिजको ‘ए’ टिमसँग पाँच खेलको टी-२० सिरिज खेल्दैछ। त्यसपछि नेपाली टिम विश्वकपका लागि अमेरिका जानेछ।

२ बैशाख २०८१, आईतवार १२:२१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading