18, May, 2024

सिन्धुपाल्चोकमा जिल्ला लिग फुटबल प्रतियोगिता : उपाधि चौतारा स्पोर्टिङ क्लबलाई

बागमती भ्वाइस
बागमती भ्वाइस
२३ बैशाख २०८१, आईतवार ११:०८ | १ हफ्ता अगाडी

सिन्धुपाल्चोक । जिल्ला फुटबल संघ सिन्धुपाल्चोकको आयोजनामा वैशाख १२ देखि सुरु भएको जिल्ला स्तरीय लिग फुटबलको उपाधि चौतारा स्पोर्टिङ क्लबले हाता पारेको छ ।

वसन्तपुर खेल मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा चौतारा स्पोर्टिङ क्लबले सदाबहार युवा क्लब खाडिचौरलाई पेनाल्टी मार्फत ४–३ को गोल अन्तरमा पराजित गर्दे उपाधि रक्षा गरेको हो ।

निर्धारित र थपेको समयमा पनि दुवै टिमबाट गोल नभएपछि खेल पेनाल्टी सुट आउटमा प्रवेश गरेको थियो । पेनाल्टीमा चौतारा स्पोर्टिङका गोल रक्षक विकास काफ्लेले सदाबहार क्लबका जर्सी नम्बर ७ का दीपक मोक्तान र जर्सी नम्बर १० का सरोज पराजुलीले प्रहार रोकेपछि सदाबहार दबाबमा परेको थियो ।

सिन्धुपाल्चोकको ए डिभिजनका १२ टिमको सहभागिता रहेको प्रतियोगितामा राइजिङ क्लब र लामो साँघु क्लब रेलिगेशनमा तल झरेको छ भने एफसी र खोर्सानीबारी क्लब ए डिभिजनमा प्रवेश गरेको जिल्ला फुटबल संघ सिन्धुपाल्चोकका अध्यक्ष अमृतमान श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टिमले प्रदेश स्तरीय लिग फुटबल प्रतियोगितामा सहभागिता हुनेछन् । प्रतियोगितामा सदाबहार युवा क्लबका गोल रक्षक दिनेश कार्की वेस्ट किपर घोषित भएका छन् ।

त्यस्तै वेस्ट डिफेन्स भीम गुरुङ, हाइ स्कोरर सरोज पराजुली, अन्डर नाइनटीन इमरजीङ प्लेयर चौतारा स्पोर्टीङका जंग रायमाझी, मष्ट भ्यालुएबल प्लेयर सरोज पराजुली घोषित भएका छन् । त्यस्तै वेस्ट कोचमा सरोज भुजुेलले उपाधि पाएका छन् ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ११ हजार १११ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाएका छन् भने दोस्रो हुने टिमले नगद ५५ हजार ५५५ सहित ट्रफी,मेडल र प्रमाण पत्र पाएका छन् ।

विजयी क्लब र खेलाडीहरुलाई पूर्व स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले पुरस्कार प्रदान गरेका थिए । पूर्व मन्त्री बस्नेतले वसन्तपुर खेल मैदानको स्तरोन्नतीका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।

२३ बैशाख २०८१, आईतवार ११:०८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading