18, May, 2024

गाडी र साडी मात्रै बेचेर मुलुक बन्दैन, राष्ट्रिय पुँजीको विकास गरी रोजगारी सृजना गरौं: घनश्याम भुसाल

बागमती भ्वाइस
बागमती भ्वाइस
२३ बैशाख २०८१, आईतवार १०:१८ | १ हफ्ता अगाडी

रुपन्देही । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले गाडी र साडी मात्रै बेचेर मुलुक नबन्ने बताएका छन् ।

मोर्चा संगठन लुम्बिनी प्रदेशले दाङको भालुवाङमा आयोजना गरेको जनसंगठनको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले उत्पादन नगरी अर्काको देशमा उत्पादित गाडी र साडी मात्रै बेचेर मुलुक बन्न नसक्ने दावी गरेका हुन् ।

उनले राष्ट्रिय पुँजीको विकास गरेर समाजवादमा नजाँदासम्म मुलुक अगाडि बढन नसक्ने बताए । ‘अहिले हाम्रो देशमा उत्पादनमा आधारित उद्योग नै स्थापना गर्ने सकेनौं, त्यसैले युवा पलायन भइरहेका छन् ।’ महासचिव भुसालले भने,’अब नेपाल राष्ट्रिय पुँजीको विकास गरेर समाजवादमा जाने नीति लिएका छौं ।’ उनले रोजगारी सृजाना गर्दै मुलुकमा १० वर्षभित्र राष्ट्रिय पुँजीको विकास गर्नुपर्ने बताए ।

नेपालमा कम्युनिष्ट पार्टी स्थापना गर्दा सामन्ती सत्ता रहेको तर अहिले दलाल पूँजीवाद रहेकाले त्यससंग जुध्न राष्ट्रिय पुँजीको विकास गर्नुपर्ने उनको भनाइ छ । महासचिव भुसालले नेकपा एकीकृत समाजवादीको महाधिवेशले अहिलेको विद्यमान समस्याबाट निकास निकाल्ने गरी नीति बनाउने उनको दावी थियो ।

भुसालले अहिले देशमा उद्योगधन्दा धारासायी भएको र निजी क्षेत्र उत्साही हुन नसकेको बताउँदै यसको कारण दलहरूमा वैचारिक अस्पष्टता रहेको बताए । उनले अब उद्योगधन्दालाई प्रोत्साहन गर्दै त्यस्ता उद्योगलाई विद्युत, कर लगायतमा छुट दिने नीति ल्याउनुपर्ने बताए ।

०६२/६३ सालको जनक्रानितले सामन्तवाद समाप्त पारेको बताउँदै अबको बाटो राष्ट्रिय पुँजीको विकास गरी रोजगारी सृजना गर्नमा केन्द्रीत हुनुपर्ने उनको तर्क थियो । उनले एमालेमा आफूहरूको विद्रोह संसद विघटनसंग मात्रै नजोडिएको बताउँदै केपी ओलीसँग वैचारिक र सैद्वान्तिक मतभेद पहिल्यैदेखि रहेको तर्क राखेका थिए ।

पार्टीको महाधिवेशन समयमै हुने र नेपालका कम्युनिष्ट पार्टीहरू वैचारिक रूपमा अलमलमा रहेकाले त्यो महाधिवेशनको दस्तावेजले हलचल ल्याउने उनले बताए। उनले अहिले बनेको गठबन्धनमा अस्तित्वसहित सहभागी भएको तथा जनता र राष्ट्रका मुद्दामा संगैसँगै हुने भएकाले सरकारका गएको उनले बताए ।

उनले काँग्रेससँगको गठबन्धनमा बस्दा पुच्छर बनेको भन्नेहरूले फेरि एमालेसंग मिल्दैछन् भनेर हल्ला फैलाएको बताउँदै अहिले कुनै पनि दलसंग एकता नहुने बताए । नेकपा एकीकृत समाजवादीका सचिव एवं लुम्बिनी प्रदेश इन्चार्च हरि पराजुलीले जनताका आधारभूत विषयमा कार्यकर्ता केन्द्रित हुन आग्रह गरे ।

नेकपा एकीकृत समाजवादी लुम्बिनीका अध्यक्ष सोमप्रसाद पाण्डेयले कम्युनिष्ट आन्दोलनमा देखिएको निराशालाई अब आशामा परिणत गर्ने बताए ।

२३ बैशाख २०८१, आईतवार १०:१८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading