01, May, 2024

पोखराको लेकसाइडमा सुरु भयो नव वर्ष महोत्सव

बागमती भ्वाइस
बागमती भ्वाइस
२९ चैत्र २०८०, बिहीबार १८:३५ | २ हफ्ता अगाडी

पोखरा । पोखरामा नव वर्ष महोत्सव सुरु भएको छ । होटल सङ्घ पोखराले आयोजना गरेको महोत्सव वैशाख १ गतेसम्म चल्नेछ । बिहीबार विशेष कार्यक्रमका बिच पोखराका मेयर धनराज आचार्यले महोत्सवको उद्घाटन गरे । आचार्यले सिमसार पुरेर फाइदा लिने विरुद्ध महानगरपालिका कठोर बन्ने बताए । अहिले ताल आसपासका सिमसार क्षेत्र दिनदिनै पुरिन थालेको छ ।

उनले फेवातालको मापदण्ड कार्यान्वयन गर्न सर्वोच्च अदालतले गरेको फैसला अनुरूप अहिले प्राविधिक जाँचबुझ भइरहेको बताएका छन् । अदालतले चैत ९ भित्र सबै मापदण्ड विपरीतका संरचना हटाउनुपर्ने फैसला गरेपनि प्रदेश र महानगरले फैसला अनुरूप काम गरेका छैनन् । मेयर आचार्यले कसैलाई अन्याय नहुने गरी मापदण्ड क्लियर गर्ने बताएका छन् ।

पोखरा पर्यटनको राजधानी घोषणा भइसकेकोले यस्ता इभेण्टहरुबाट पर्यटन विकासमा अझै टेवा पुग्ने दाबी आचार्यको छ । ‘पोखरा पर्यटनको राजधानी भइसक्यो । यस्ता इभेण्टहरुले पर्यटन विकासमा सहयोग पुग्छ,’ उनले भने, ‘तर हाम्रा व्यवहार पनि पर्यटन मैत्री हुनुपर्छ ।’ उनले रात्रिकालीन व्यवसायका लागि छुट्टै अनुमति दिने र आवश्यक मापदण्ड पूरा गरेका व्यवसायलाई स्टिकर वितरण गर्न महानगरपालिकाले प्रक्रिया अघि बढाइसकेको जानकारी दिए ।

होटल सङ्घले वर्षेनी नेपाली नयाँ वर्षको अवसरमा महोत्सव गर्दै आएको छ । पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर आयोजना गरिएको महोत्सवकै अवसरमा पोखराका होटलहरुले २० प्रतिशतसम्म छुट दिने सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । निःशुल्क प्रवेश हुने महोत्सव ड्यामसाइडचोकदेखि खहरे चोकसम्म आयोजना गरिएको छ ।

२९ चैत्र २०८०, बिहीबार १८:३५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading